coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्वले जलवायु एकता सम्झौता गर्ने कि सामूहिक आत्महत्या  सम्झौता?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले विश्वका विकसित र विकासोन्मुख देशलाई जलवायु एकता सम्झौता गर्न माग गरेका छन्। उनले मानवतासँग या त आपसी समन्वय गर्ने नभए आफैं विलुप्त हुने विकल्प मात्र रहेको चर्चा गरे। ‘म विश्वका विकसित र विकासोन्मुख देशले ऐतिहासिक जलवायु एकता सम्झौता (क्लाइमेट सोलिड्यारी प्याक्ट) गर्न आह्वान गर्छु,’ उनले भने।  

विश्वको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको र त्यसलाई रोक्न विश्वले गरेको प्रयास अपर्याप्त रहेको सन्दर्भमा महासचिव गुटरेसले इजिप्टमा जारी जलवायु सम्मेलनमा उक्त आह्वान गरेका हुन्। पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वका तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्री सेल्सियसमा सीमित राख्न सुझाए पनि विश्वको तापमान १.१ डिग्री सेल्सियसले बढिसकेको छ। विद्यमान प्रयास र उत्सर्जनका प्रस्तावित लक्ष्यका आधारमा हिसाब गर्दा विश्वको तापमान २.५ डिग्रीले बढ्ने विभिन्न आकलनले देखाएका छन्।

‘यो दशकभित्रै उत्सर्जन घटाएर पेरिस सम्झौताको १.५ डिग्रीको लक्ष्य हासिल गर्न थप प्रयासका लागि यो सम्झौता आवश्यक छ,’ उनले भने। उनले यो सम्झौताअन्तर्गत धनी राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय निकायले उदयोन्मुख अर्थतन्त्र भएका राष्ट्र«मा नवीकरणीय ऊर्जा रूपान्तरण प्रयासमा वित्तीय तथा प्राविधिक सहयोग गर्न सक्ने तर्क पनि गरे। ‘खनिज इन्धनमा रहेको निर्भरता र कोइलामा आधारित प्लान्टहरूको निर्माण अन्त्य गर्न यस प्रकारको सम्झौता तत्काल आवश्यक छ। विकसित देशले सन् २०३० भित्रै र अन्यले सन् २०४० भित्रै कोइलाको प्रयोगलाई फेजआउट (प्रतिस्थापन) गर्नुपर्छ,’ उनले भने।  

प्रस्तावित सम्झौताले विश्वव्यापी रूपमा सुलभ र दिगो ऊर्जा उपलब्ध गराउन बाटो प्रशस्त गर्ने धारणा उनले राखे। चीन र अमेरिकाजस्ता विश्वका दई ठुला अर्थतन्त्र भएका देशले यो सम्झौताको प्रस्तावमा सहभागी हुनुपर्ने चर्चा पनि उनले गरे। ‘विकसित र उदयोन्मुख अर्थतन्त्र भएका राष्ट्रलाई एउटै धागो र रणनीतिमा सूत्रबद्ध गर्न तथा सामूहिक क्षमता र संसाधनको अत्यधिक प्रयोग गरेर मानवहितको रक्षा गर्न यो सम्झौता आवश्यक छ,’ उनले भने।  

रुस–युक्रेन युद्ध, सहेलमा जारी द्वन्द्व, विश्वका अन्य स्थानमा जारी हिंसा र अशान्तिले विश्व आक्रान्त रहेको चर्चा गर्दै उनले आफ्नो मन्तव्यको सुरुमा भने, ‘घडीले खतराको घन्टी देखाइसकेको छ। हामी जीवनरक्षाका लागि लड्दैछौं तर हामी हार्दैछौं। हरित गृह ग्याँस उत्सर्जन बढेको बढ्यै छ। विश्वका तापमान बढ्ने क्रम जारी छ। हामी फर्कनै नसकिने बिन्दुतर्फको यात्रामा छौं,’ उनले भने।  

जलवायु यो शताब्दीको केन्द्रीय चुनौती र विद्यमान समयको सबैभन्दा ठुलो विषय रहेको तर्क गर्दै उनले थपे, ‘यो विषयलाई कम प्राथमिकता दिनुलाई अस्वीकार्य, क्रूर र आफैंलाई हराउने अभ्यास मान्नुपर्छ।’

इजिप्टको सर्म एल सेखमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसिसी) को २७औं सम्मेलन (कोप–२७) मा १२५ राष्ट्रका प्रमुखसहित २०० देशका सरकारी प्रतिनिधि सहभागी छन्। सम्मेलनको पहिलो खण्डअन्तर्गत सोमबार र मंगलबार विश्वका नेताहरूको सम्मेलन ‘वल्र्ड लिडर समिट’ जारी छ। विश्वका नेताहरूले सम्बोधन गरिरहे पनि भने सम्मेलनअन्तर्गत अन्य छलफल र साइड इभेन्ट्सहरू नियमित भइरहेका छन्। चालु सम्मेलनमा थप जलवायु वित्तको प्रवाह, जलवायुजन्य हानिनोक्सानीलाई सम्बोधन गर्न छुटै संयन्त्र र कोषको स्थापना, पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न थप प्रयासको आवश्यकताजस्ता विषयले प्राथमिकता पाएका छन्। सम्मेलन मंसिर २ सम्म चल्नेछ। 

प्रकाशित: २२ कार्तिक २०७९ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App