coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायु विश्व सम्मेलन सुरुः जलवायु संकट सम्बोधनका वाचाकबोल कार्यान्वयन मूल मुद्दा

लगातार बढिरहेको पृथ्वीको तापमान रोक्न तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न तथा उपायहरूमा एकमत हुन संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन आइतबार सुरु भएको छ।

इजिप्टको रिसोर्ट सिटीका रूपमा चिनिने सर्म एल–सेखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसी) को २७औं सम्मेलन (कोप–२७) मा १२५ राष्ट्रका राष्ट्रप्रमुखसहित २०० देशका सरकारी प्रतिनिधि सहभागी छन्। सम्मेलन मंसिर २ सम्म चल्नेछ।

सम्मेलनको पहिलो खण्डअन्तर्गत सोमबार र मंगलबार विश्वका नेताहरूको सम्मेलन ‘वल्र्ड लिडर समिट’ हुनेछ भने त्यसपछि सबैभन्दा पेचिलो मानिएको जलवायु वार्ताको चरणमा सहभागी राष्ट्रका प्रतिनिधिहरूबीच घनीभूत छलफल तथा आपसी सहमतिको प्रयास हुनेछ।

रुस–युक्रेन युद्धका कारण सिर्जना भएको प्रतिकूल भूराजनीतिक अवस्था, विश्वव्यापी ऊर्जा तथा खाद्य संकटका पृष्ठभूमिका कारण लगातार जटिल बन्दै गएको जलवायु संकट सम्बोधनमा यो सम्मेलन कति सफल हुने भन्नेमा विश्वव्यापी चासो छ।

अफ्रिकी देश इजिप्टमा आयोजना भएकाले ‘अफ्रिकी सम्मेलन’ तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने दिशामा यसअघि भएका प्रतिबद्धताको कार्यान्वयन गर्न महत्त्वपूर्ण हुने भएकाले यसलाई ‘कार्यान्वयन सम्मेलन’ पनि मानिएको छ । यो सम्मेलनमा नागरिक समाज, निजी क्षेत्र, युवा तथा अन्य सरोकारवालासहित ४० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनका नारा ‘कार्यान्वयनका लागि एकसाथ’ भन्ने रहेको छ।

पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायुसम्बन्धी पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्यहरूलाई पूर्ण र विश्वसनीय तवरले कार्यान्वयन गर्ने मामिलामा यो सम्मेलनको महत्त्व अत्यधिक छ। विश्वको तापमान वृद्धिका लागि जिम्मेवार मानिएको हरितगृह ग्याँस उत्सर्जन घटाउनेतर्फ महत्त्वाकाक्षी लक्ष्य तय गर्न तथा तिनको समयसारिणी सहित कार्यान्वयन गर्नमा सम्मेलनले थप जोड दिनेछ।

आइतबार नै कोप–२६ का अध्यक्ष तथा बेलायतका पूर्वमन्त्री आलोक शर्माले इजिप्टका परराष्ट्रमन्त्री तथा कोप–२७ का अध्यक्ष समेह सौकरीलाई पद हस्तान्तण गरेका छन्। त्यसअघि उनले मन्तव्य राख्दै सम्मेलन ठोस कामका लागि हुनुपर्नेमा जोड दिए। ग्लास्गोमा गत वर्ष भएको ऐतिहासिक सहमतिलाई नयाँ उचाइमा लानुपर्ने उनको धारणा थियो।

कोप–२७ का नवनियुक्त अध्यक्ष सौकरीले आफ्नो कार्यकालमा शब्दलाई कार्यमा बदल्ने बताए। उद्घाटन मन्तव्यमा युनएफसिसीका साइमन स्टिलले मानवताको सबैभन्दा ठुलो चुनौतीलार्ई सम्बोधन गर्न विश्व एक हुनुपर्ने बताए। उनले जलवायुजन्य हानिनोक्सानीको मुद्दालाई सम्बोधन गर्नबाट यो सम्मेलन चुक्न नहुने बताए। यो सम्मेलनमा जलवायुजन्य हानिनोक्सानीको विषयमा प्रगति हुने अपेक्षा गरिएको छ।

सम्मेलनको पूर्वसन्ध्यामा सहभागीहरूलाई लेखेको एक पत्रमा सौकरीले जलवायु परिवर्तनका कतिपय प्रभावहरू उल्ट्याउन नसकिने बिन्दुमा पुगेको बताउँदै यसलाई रोक्न ‘कोरा प्रतिबद्धताभन्दा प्रभावकारी कार्यको आवश्यकता’ रहेको उल्लेख गरेका छन्। ‘विश्व समुदाय एक ठाउँमा उभिन, बहुपक्षीयता तथा आपसी विश्वासलाई कायम राख्न तथा उच्चतम तहमा राजनीतिक सहमति कायम गर्न कोप–२७ अपूर्व अवसर हो। मानवताको रक्षाका लागि हामीले यो अवसरलाई गुमाउनुहुँदैन,’ उनले भनेका छन्।  

वल्र्ड समिटमा सहभागिता

सुरुमा आनाकानी गरेका बेलायती नवनिर्वाचित प्रधानमन्त्री ऋषि सुनकले सम्मेलनमा भाग लिनेछन्। यस वर्ष बाढीले तहननहस भएको नजिकको छिमेकी पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शेवाज सरिफ पनि सम्मेलनमा सहभागी हुनेछन्। आन्तरिक राजनीतिक कारणले वल्र्ड लिडर समिटमा सहभागिता नरहे पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मेलनलाई नोभेम्बर ११ मा सम्बोधन गर्ने कार्यक्रम छ।

उता कार्बन उत्सर्जनको विश्वमा अग्रणी सूचीमा आउने छिमेकी चीन र भारतका राष्ट्र« प्रमुख लिडर्स वल्र्ड समिटमा सहभागी छैनन्। तर दुवै देशको प्रतिनिधिमण्डल भने सम्मेलनमा सहभागी छन्। भारतीय टोलीको नेतृत्व केन्द्रीय वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले गरेका छन्।

नेपालको सहभागिता

गत वर्ष बेलायतको ग्लास्गोमा आयोजित कोप–२६ मा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकोमा यसपटक आसन्न आम चुनावका कारण यो सम्मेलनमा उनी सहभागी भएनन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाली टोलीको नेतृत्व गरेकी छन्।

नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढेको जोखिम, संकटासन्नता तथा जलवायु संकट थेग्ने अनुकूलन क्षमता बढाउने विषयलाई प्रमुखताका साथ उठाउनेछ भने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई उपलब्ध गराउने कबोल गरेको वित्तीय सहायता गर्ने प्रतिबद्धता कार्यान्वयनमा जोड दिनेछ। यसैगरी सम्मेलनमा एक प्रमुख विषय रहेको जलवायुजन्य विपद्लाई सम्बोधन गर्न छुट्टै कोषको स्थापना हुनुपर्ने मागलाई नेपालले प्रमुखताका साथ उठाउनेछ।

प्रकाशित: २१ कार्तिक २०७९ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App