७ वैशाख २०८१ शुक्रबार
समाज

चालक निदाएपछि बस दुर्घटनाः २२ जना घाइते

पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा सोमबार यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना भएको हो। बस अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा घाइते भएका २२ यात्रुको सर्लाहीको लालबन्दी र बयलवासमा रहेका विभिन्न अस्पतालमा उपचार भएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले जनाएको छ।

घाइतेमध्ये बसका सह–चालक झापाको मेचीनगर नगरपालिका–७ का २१ वर्षीय प्रदीप पुरीको अवस्था गम्भीर रहेको छ। उनलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

चालक निदाएको कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। दुर्घटनाको बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। चाडपर्वको समयमा बस दुर्घटना भएपछि बसमा चढ्नुअघि यात्रुहरुलाई डर लागिरहेको सर्लाहीका एक यात्रुले जानकारी गराएका छन्। चाडपर्वको समयमा ट्राफिक प्रहरीको सक्रियता बढ्नुपर्ने सर्लाहीबासीको माग रहेको छ।

प्रकाशित: ३१ आश्विन २०७९ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App