coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भेरी नदीमा जलस्तर खतराको तह पार

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ। पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको बिन्दु पार गरेको छ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ। भेरी नदीमा ४।५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५।२३ मिटर पुगेको छ।

अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन्। बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैंअवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ। 

प्रकाशित: २१ आश्विन २०७९ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App