६ वैशाख २०८१ बिहीबार
समाज

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ। नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिंड्न थालेका छन्।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो। दुई दिनसम्म हिंड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले वर्षा भएको जनाएको छ। महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।

राजधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ। त्यस क्षेत्रका मानिसलाई भने अझै दुर्गाको प्रसाद लगाउन र आशीर्वाद थाप्न असहज हुने देखिएको छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताए। केही दिन सुनसान रहेको राजधानी शहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ।रासस

प्रकाशित: २१ आश्विन २०७९ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App