७ वैशाख २०८१ शुक्रबार
समाज

मिर्छुलुङमा दशैं पर्यटन मेला हुने

तनहुँको भिमाद नगरपालिका-५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दशैं पर्यटन मेला हुने भएको छ। तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दशैं तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो।

मिर्छुलुङको पर्यटन प्रवर्द्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले बताए।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. २२ हजार दुई सय २२, रु. १६ हजार छ सय ६६ र रु. ११ हजार एक सय ११का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्यूटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रूपमा रहने छन्।

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ। देश-विदेशमा रहेका नेपालीहरूबाट संकलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो।

कूल ३८ लाख चार हजार नौ सय रुपैयाँको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए। सो मेलाका अवसरमा भ्यूटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ।

मगर समुदायको कौरा, झ्याउरे, प्रांगारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो। प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ। उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो। रासस

प्रकाशित: २१ आश्विन २०७९ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App