५ वैशाख २०८१ बुधबार
समाज

ढुंगा बोक्दै धुर्मुस–सुन्तली

सिन्धुपाल्चोक–हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा बुधबारदेखि घर निर्माण कार्य थालिएको हो । धुर्मुस–सुन्तली स्वयं ढुंगा बोकेर स्थानीयसँगै घर निर्माणमा जुटेका छन् । भूकम्पको वर्ष दिनमा वैशाख १२ गते एकीकृत बस्ती निर्माणको शिलान्यास गरिएको थियो ।गत वर्षको वैशाख २९ को अनुकम्पले गिरानचौरमा बढी क्षति पुर्याएकाले त्यही दिन पारेर निर्माण कार्य थालिएको सीतारामले बताए । उनका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिका ८ गिरानचौरमा ६५ वटा घर बनाउने छ । 'पीडितलाई दसैंसम्म नयाँ घरमा सार्ने लक्ष्य छ,' फाउन्डेसन अध्यक्षर सीतारामले भने ।

फाउन्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँग सम्झौता गरी पीडितलाई एकतले भूकम्पप्रतिरोधी घर बनाइदिन लागेको हो । घरमा शौचालयसहित चार कोठा हुनेछ । पिलर, सिमेन्ट ब्लक, फलाम र काठपात प्रयोग गरी बस्ती बसाल्ने प्राविधिक डिजाइन छ ।

'एउटा घर बनाउन साढे ६ लाख खर्च लाग्ने प्राविधिक स्टमेट छ । यसमा तलमाथि हुन सक्छ,' सीतारामले भने । अहिले सीपालु मजदुर झिकाएर निर्माण कार्य अघि बढाइएको छ । स्थानीयलाई नै तालिम दिएर निर्माणमा लगाउने फाउन्डेसनको योजना छ । 'नजिकै इन्द्रावती नदीमा बालुवा पाइने भएकाले ब्लक यहीँ बनाउँछौंँ,' उनले भने । उनका अनुसार उपलब्ध भएसम्म स्थानीय सामग्री प्रयोग गरिने छ । ६५ घरको बीचमा एउटा सामुदायिक हलसमेत बनाइने छ ।

बस्ती निर्माण अवधिभर गिरानचौरमै बस्ने सीतारामले बताए । यसअघि भूकम्पपछिका साढे दुई महिनामै धुर्मुस–सुन्तलीले काभ्रेमा एकीकृत पहरी बस्ती बनाएर पीडितलाई हस्तान्तरण गरेका थिए । भूकम्प गएलगत्तै प्रभावित जिल्लामा राहत र उद्धारमा खटिएका सीतारामले सिन्धुपाल्चोक सर्वाधिक क्षतिग्रस्त जिल्ला भएकाले गिरानचौरका पीडित तामाङ समुदायलाई घर बनाइदिन लागेको बताए ।

उनका अनुसार ६५ घरको गिरानचौर एकीकृत बस्ती बसाउन ४ करोड रुपैयाँ खर्च हुने प्राविधिक अनुमान छ । ६५ परिवारका ५ सय १५ सदस्य छन् । बस्ती निर्माणका लागि अहिलेसम्म करिब २२ लाख रुपैयाँं नगद जुटेको जानकारी फाउन्डेसन कोषाध्यक्ष सुन्तलीेले दिइन् । सहयोगी हातकै भरमा एकीकृत बस्ती बनाउन कस्सिएकाले नगददेखि आवश्यक निर्माण सामग्री सहयोग गर्न धुर्मुस–सुन्तलीले सबैलाई आग्रह गरेका छन् । 'नगद र अन्य सामग्री दिन नसक्नेलाई साबेल र बेल्चा बोकेर निर्माणमा जुट्न आग्रह गर्छौं,' सीताराम भने । फाउन्डेसनका अनुसार निर्माणाधीन एकीकृत बस्ती बालमैत्री, अपांग मैत्री, खुला दिसामुक्त र वातावरणमैत्री हुने छ । एक घर–एक धारा, बगैंचाको कल्पना धुर्मुस–सुन्तलीले गरेका छन् ।

प्रकाशित: २९ वैशाख २०७३ २१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App