८ वैशाख २०८१ शनिबार
समाज

इलाम माइस्थानमा पुरातात्विक तोप पुनःस्थापना

तस्बिर: भीम/नागरिक

इलाम सदरमुकामस्थित माइस्थान मन्दिर परिसरमा पुरातात्विक महत्वको तोप पुनःस्थापित गरिएको छ। फूलपाती अवसर पारेर आज (आइतबार) यहाँ २ तोप राखिएका हुन्।

वर्षौंअघि यहाँ राखिएका तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो। यहाँबाट २०५९ सालमा लगिएका तोप २० वर्षपछि पुनःस्थापित गरिएका हुन्। पुनःस्थापित गर्नुअघि तोपलाई नेपाली सेनाका २ ट्रकमा राखेर बाजागाजा र झाँकीसहित इलाम बजार परिक्रममा गराइएको थियो। महिनादिनअघि इलाम ल्याइएका तोप गढीथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणबाट इलाम बजार, मालापथ, भानुपथ हुँदै टुँडिखेलसमेत परिक्रमा गराइ माइस्थानमा राखिएका हुन्।

यसअघि पुनःस्थापित गरिएको नेपाली सेनाको गौरवमय निसानसमेत तोपसँगै इलाम बजार परिक्रममा गराइएको छ। तोप र निसान बजार परिक्रममा गराउँदा इलामबासीले बाक्लो संख्यामा सहभागी भएर साथ दिएका छन्। इतिहासकार युद्धप्रसाद वैद्यले इलाममा तोप पुनःस्थापित हुँदा इलामबासी हर्षित भएको जनाए। उनले यो तोप इलाम फर्काउन इलामबासीले पटक–पटक माग गरेको पनि बताए।

‘इलामको मात्रै होइन, देशकै पुरातात्विक महत्वको तोप इलाममा पुनःस्थापित गरिनु इलामका लागि ठूलो अवसर हो,’ वैद्यले भने, ‘अब माइस्थान क्षेत्र पुरातात्विक सम्पदा भएको छ।’ उनले तोप र निसानलाई इलामको पर्यटनसँग जोड्न सुझाव पनि दिए। ‘इलाममा पर्यटक घुम्ने धेरै ठाउँ छन् तर अब माइस्थान मन्दिर क्षेत्र पर्यटकका लागि घुम्न आउने विशेष ठाउँ भएको छ,’ उनले भने, ‘इलामबासीले पनि पर्यटकलाई यहाँसम्म ल्याउन आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ।’

२ दशकअघि त्यहाँबाट उठाइएको तोप कहिलेदेखि माइस्थानमा राखिएको थियो भन्ने यकिन छैन। तर, यहाँ निसान स्थापना गरिनुअघि र पछि पनि ८ तोप थिए। माइस्थानमा मात्र होइन, त्यतिबेला इलाम दरबार (पुरानो सिडिओ कार्यालय)को आँगनमा पनि तोप राखिएको थियो। नेपाल भू–भागको ऐतिहासिक लडाइँ र विजयसँग जोडिएको तोपले पुरातात्विक महत्व राख्ने भएकाले यो अमूल्य धरोहर भएको वैद्यले जनाए। ‘सशस्त्र द्वन्द्वका बेला यहाँबाट तोप लगिएपछि इलामबासी निकै चिन्तित थिए,’ वैद्यले भने, ‘तर, इलामबासीले पटक–पटक अनुरोध गरेपछि तोप पुनः ल्याइएको छ।’

माइस्थानमा रहेको नेपाली सेनाको गढी २०२७/२८ सालतिर अहिलेको गढीथुम्कामा सारिएको थियो। २ सयवर्षे इतिहास बोकेको निसान पनि २०७४ सालमा इलाम फर्काइएको थियो। सुगौलीको सन्धिपछि इलाम ल्याइएको श्रीनाथ पल्टनको निसान सशस्त्र द्वन्द्वकै क्रममा काठमाडौं लगिएको थियो। यो निसानलाई नेपालको पूर्वी सीमा टिस्टा नदीसम्म पुगेका बेला त्यहाँ गाढिएको नेपाली सेनाको वीरताको प्रतीकका रूपमा लिइन्छ।

नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपादेवी’ र ‘निसान भगवती’का रूपमा पूजा गर्नेगरेको छ। यो विशेष किसिमको झन्डाको रूप हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरणताका गठन गरेको श्रीनाथ पल्टन नेपालमा पहिलोपटक पत्थरकला (बन्दुक) चलाउने पल्टन मानिएको र त्यही पल्टनको प्रतीक भएकाले निसानलाई अमूल्य सम्पत्तिका रूपमा मानिन्छ। इतिहासकार वैद्य इलामका लागि निसान अर्को गौरव भएको बताउँछन्।

प्रकाशित: १६ आश्विन २०७९ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App