coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्रोतमै फोहर वर्गीकरण: भएन कार्यान्वयन

काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन।

फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो।

जुनसुकै बार पनि नागरिकले सबै किसिमको फोहर एकै भाँडोमा राखेर महानगरको गाडीसम्म लाने गरेको भेटिएको छ। उता फोहरको दीर्घ व्यवस्थापन गर्ने वञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि स्थान तयमै पनि अलमल देखिएको छ।

महानगरपालिकाले फोहर नछुट्याए पाँच सय जरिवाना गर्ने भनी सूचना जारी गरेको थियो। विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र विसं २०७७ मा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ।

ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। यसअनुसार उत्पादकले घरमै जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ। विकसित मुलुकले सहरबाट निस्कने फोहरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन् तर काठमाडौँको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ। त्यसो हुनु दीर्घकालीन योजनाको अभाव हो।

विज्ञका अनुसार फोहरलाई  प्रारम्भमैै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा जुटको झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणा प्रवद्र्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ।

कामपाको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर जान्छ। नजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छन्।

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो। आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ। सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो। बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी जमिन छुट्याइएको छ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिकटनसम्म फोहर फाल्ने गरिएको छ। उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको छ।  

जारी छ, स्थान पहिचानको काम

कामपाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम जारी रहेको जनाएको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानको काममा लागिएको कामपाले जनाएको छ।

बञ्चरेडाँडामा हानिकारक  फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो। त्यसका लागि उपत्यकामा तीन स्थानमा पहिचान गरिएको छ। बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त स्थानमा कुहिने फोहर व्यवस्थापनको कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयवासीसँग छलफल भइरहेको बताइएको छ। फोहर व्यवस्थापनको काम भएकाले स्थानीयवासीलाई त्यस विषयमा बुझाउन भने कठिन भएको कामपाको भनाइ छ।

प्रकाशित: १६ आश्विन २०७९ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App