दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि खुसी देखिन्थे। दसैंमा घर परिवारका लागि सरसामानसँगै उनले खुसी पनि बोकेर ल्याएका छन्। उनीसँगै रहेका सल्यानका चिरञ्जीवी बुढा पनि प्रफुल्लित मुद्रामा थिए। यतिबेला जमुनाह नाकामा दसैंतिहार मनाउन घर फर्किने नेपालीको लर्को देखिन्छ।
घटस्थापना सुरु भएसँगै भारतबाट घर फर्किने नेपालीको संख्या बढ्दै गएको छ। गाउँघरमै रोजगारी नपाउँदा चैतमा भारत गएको बताउँदै सल्यानका बुढाले भने, ‘घरमा खाली बस्नुभन्दा रोजगारीका लागि चैतमा भारत गएको हुँ। अहिले दसैं मनाउन घर जाँदै छु।’
दसैंतिहार मनाएपछि पुनः भारत जाने उनी बताउँछन्। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपाली घर फर्किन थालेपछि गाउँमा दसैंको उमंग छाएको छ।
भारतको कानपुरस्थित एक होटलमा चौकीदारी काम गर्ने रुकुम पश्चिमका खगबहादुर नेपालीले डेढ वर्षपछि बल्ल दसैं मान्न घर फर्किएको बताए। ‘घर फर्किने खबर पठाएको थिएँ, खबर पाएर घरपरिवार पनि खुसी भएका छन्,’ उनले भने, ‘घरमा पुगेपछि त झन् कति खुसी होलान्।’ खुसीसाथ दसैं मनाउन घर फर्किएको उनले बताए। ‘खेतीपाती लगाएर रोजगारीका लागि भारत पस्छौं,’ दसैं मनाउन घर आएका रोल्पाका कृष्णमान पुनले भने, ‘पर्व मनाउन आउँछौं र मनाएर जान्छौं, फेरि खेतीपाती लगाउने बेला आउँछौं।’ भारतका दिल्ली, मुम्बई, महाराष्ट्र, पन्जाब, पुने, बैंग्लोर, सिमला, हरिद्वारलगायत सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन्।
‘भारत गएका नेपाली दसैं लागेपछि दैनिक दुई/तीन हजारका दरले फर्किरहेका छन,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले भने, ‘आफन्तसँग दसैंतिहार मनाउन घर फर्कने नेपाली धेरै छन्।’ यतिबेला सीमानाकामा सुरक्षाका लागि प्रहरीले समेत विशेष अभियान सञ्चालन गरेको उनी बताउँछन्। सीमा क्षेत्रमा नेपाली लुटिन सक्ने भएकाले विशेष सुरक्षा अभियान चलाएको प्रहरीले जनाएको छ। पश्चिम नेपालका धेरै मानिस रोजगारीका लागि भारत जान्छन्। भारत पसेका नेपाली दसैं मनाउन घर फर्किएपछि गाउँबस्तीमा पनि रौनक बढेको छ, गाउँमा चहलपहल बढेको छ।
प्रकाशित: १६ आश्विन २०७९ ०१:१४ आइतबार