७ वैशाख २०८१ शुक्रबार
समाज

प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी प्रावधानको विरोध

प्रदेश १ को सरकारले ल्याएको प्रदेश प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी प्रावधानप्रति ललितकला संगम विराटनगरले विरोध गरेको छ। प्रदेश १ को सरकारी प्राज्ञिक निकायलाई राजनीतिको मेन्द्र बनाउन खोजिएको भन्दै  प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी व्यवस्थाको विरोध गरेको हो।  

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी पञ्चायत काललाई पनि बिर्साउने गरी कर्मचारी र राजनीतिक नेतृत्वको नियन्त्रणमा प्रज्ञा प्रतिष्ठानलाई राखेर कला, साहित्य र संस्कृतिको हुर्मत लिइएको ललितकला संगम विराटनगरका उपाध्यक्ष विजु थपलियाले बताए। उनले प्रज्ञा प्रतिष्ठान कर्मचारी र राजनीतिक नेतृत्व हावी गराउने नभई स्वतन्त्र प्राज्ञिक निकायका रुपमा स्थापित गर्नुपर्ने स्पष्ट पारे। प्रदेश सरकारले ल्याएको प्रदेश प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी व्यवस्थामा प्रतिष्ठानको कुलपति प्रदेश सरकारका मुख्यमन्त्री, सह कुलपति संस्कृति हेर्ने मन्त्रालयका मन्त्री हुने व्यवस्था रहेको छ।  

राजनीतिक नियन्त्रणमा प्रज्ञा प्रतिष्ठान गठन गर्न प्रदेश सरकारले तयारी गरेको विरोधमा आफूहरू उत्रिने ललितकला संगम विराटनगरका अध्यक्ष जयप्रकाश चौधरीले बताए। उनले आफूहरूको सुझावलाई बेवास्था गरी जवर्जस्ती प्रज्ञा प्रतिष्ठान गठन गरे प्रज्ञा प्रतिष्ठानका सबै कार्यक्रम बहिस्कार गर्ने र प्रज्ञा प्रतिष्ठान गठनको विरोध गर्ने चेतावनी दिए। प्रदेश प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७८ को दफा ४  मा  मुख्यमन्त्री कुलपति, संस्कृति मन्त्री सहकुलपति हुने लगायतका व्यवस्था गरिएको छ।

प्रकाशित: १५ आश्विन २०७९ ११:३७ शनिबार