१६ चैत्र २०८० शुक्रबार
समाज

गाउँका खाद्य डिपो रित्तै

चामल लिन लाइनमा नागरिक। तस्बिर: ललित/नागरिक

पचालझरना गाउँपालिकाका विक्रम बम सुपथ मूल्यको मसिनो चामल लिन सदरमुकाम मान्म आइपुगे। पाँच सय रूपैयाँ गाडी भाडा तिरेर आएका बम दिनभर लाइन बसे तर चामल पाएनन्। बेलुका रित्तै घर फर्कनुपर्‍यो। खाद्य डिपोमै पनि चामल नपाएको उनले बताए। ‘दसैंका लागि सुपथ मूल्यमा चामल लिन आएको थिएँ तर रित्तो हात फर्किनुपर्‍यो’, बमले भने।

खाँडाचक्र नगरपालिका १ का ४२ वर्षीय अग्रबहादुर शाही मसिनो चामल लिन खाद्य डिपोमा आए। दिनभर लाइन लागे तर रित्तो हात फर्कनुपर्‍यो। बम र शाहीजस्तै शुक्रबार खाद्य डिपोमा आएका दर्जनौं स्थानीयले रित्तो हात फर्कनुपरेको छ। जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा र चारवटा बिक्री केन्द्र छन्। कम्पनीको शाखामा जिरा मसिनो चामल सकिएको छ। आवश्यक हुनेले मोटा चामल लिइरहेको कार्यालय प्रमुख कमलराज पाण्डेले बताए। अन्य तीन पालिकामा रहेका बिक्री केन्द्र भने रित्तै छन्। तिलागुफा नगरपालिकाको पादमघाट, पलाँताको थिर्पु र खिन धैलागोह बिक्री केन्द्रमा चामल छैन। यी केन्द्र झन्डै एक वर्षदेखि रित्तै छन्। जिल्ला सदरमुकामस्थित खाद्य डिपो र खल्लाघाट बिक्री केन्द्रहरूमा चामल नहुँदा दसैंको मुखमा महँगो मूल्यमा स्थानीय खाद्यान्न किन्न बाध्य छन्।

कम्पनीले दसैं, तिहार र छठ पर्वका लागि असोज १ देखि कात्तिक १५ गतेसम्म छुट मूल्य पसल सञ्चालन गरेको छ। खाद्यान्न बिक्री वितरणमा प्रतिकिलो सात रूपैयाँ छुट गरेको छ। चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसकेका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालिकोटको बिक्री केन्द्रहरूमा दसैंअघि चामल पुग्ने सम्भावना छैन। कार्यालय प्रमुख कमलराज पाण्डेका अनुसार केन्द्रबाट टेन्डर स्वीकृत भएर ढुवानी सेवालाई सम्झौता गर्न आउन १५ दिने समय दिइएका कारण दसैंअघि चामल बिक्री केन्द्रमा पुग्ने सम्भावना कम छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न ढुवानी गर्न असार १० गते कम्पनीको कालिकोट शाखा र चारवटै बिक्री केन्द्रलगायतका लागि टेन्डर आह्वान गरेको थियो। 

प्रकाशित: १५ आश्विन २०७९ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App