८ वैशाख २०८१ शनिबार
समाज

एउटै च्यांग्राको मूल्य आधा लाख

मुस्ताङबाट काठमाडौं, पोखरालगायतका बजारमा लैजान लागिएका भेडा–च्यांग्रा। तस्बिर: हरिकृष्ण/नागरिक

दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले।  

डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले पनि गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्यांग्राको मूल्य आधा लाख भेट्ने बताए। ‘यो दसैंमा पनि च्यांग्राको भाउ महँगिएको छ,’ व्यापारी सिलवालले भने, ‘च्यांग्रा महँगो भए पनि माग अत्यधिक छ।

भेडाको तुलनामा च्यांग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले नियमित व्यापारीले पहिला नै बुकिङ गर्दा केही सस्तो पर्ने तर नयाँ व्यापारीले भन्ने महँगोमा किन्नुपर्ने उनले बताए। मुस्ताङका च्यांग्रालाई बेनी–जोमसोम सडकखण्ड हुँदै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र बेनी बजारमा ल्याएर त्यहाँबाट ट्रकमा राखी काठमाडौंलगायतका बजारमा लगिन्छ।  

बेनी बजारका खसी व्यापारी प्रकाश पौडेलले भेडा–च्यांग्राको मूल्य बढेपछि यसपटक कम किनेको बताए। ‘मुस्ताङ पुगेका केही व्यापारी रित्तै फर्किए’, उनले भने, ‘उपभोक्तालाई बिक्री गर्ने मूल्य मुस्ताङमै पर्छ।’ उनले यसपटक आफूले मुस्ताङबाट ९८ वटा भेडा–च्यांग्रा ल्याएको बताए। प्रतिकूल मौसमका कारण यसपटक केही भेडा–च्यांग्रा बाटोमै मरेकाले मर्कामा परेको पनि उनले बताए।  

उपल्लो मुस्ताङका स्थानीय व्यापारीले भेडा–च्यांग्रा खरिद गरी बाहिरी जिल्लाबाट आउने व्यापारीलाई बिक्री गर्न थालेपछि मूल्य बढ्न थालेको बाहिरबाट गएका व्यापारी बताउँछन्। ‘हामीले सिधै गोठबाट किन्न पाइँदैन्, त्यहाँका स्थानीय व्यापारीले किन्छन् र केही फाइदा राखेर हामीलाई बेच्छन्’, एक व्यापारीले भने। खरिद र ढुवानी दुवै महँगो परेपछि महँगोमा बिक्री गर्नुपर्ने भएको व्यापारीको भनाइ छ।  

उपल्लो मुस्ताङ र डोल्पाबाट यसपटक करिब १४ हजार भेडा–च्यांग्रा बाहिरिने अनुमान गरिएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डण्डपाणि शर्माले बताए। ‘किसानको गोठमै महँगो छ, चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्यांग्रा आएका छैनन्’, प्रमुख शर्माले भने, स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सक्दैन।’ उनका अनुसार तिब्बतबाट भेडा–च्यांग्रा नआउँदा मूल्य बढेको हो।  

उपल्लो मुस्ताङका चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ। मुस्ताङका भन्दा तिब्बतका भेडा–च्यांग्राको स्वाद, तौल र मूल्य फरक हुन्छ। मुस्ताङी व्यापारीको रोजाइ तिब्बती भेडा–च्यांग्रा भए पनि तिब्बतबाट निर्यात नहुँदा समस्या भएको छ।  

पर्याप्त चरन क्षेत्र, बजार मूल्य राम्रो हुनु, प्राविधिक सहयोगका कारण किसानको भेडापालनप्रतिको आर्कषण बढेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ। केन्द्रले मुस्ताङको लोमान्थाङ, छुसाङ, जोमसोम, लेते र म्याग्दीसँग सिमाना जोडिएको घाँसामा चेकजाँच केन्द्र राखेको छ। केन्द्रबाट भेडा–च्यांग्राको लस्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिइन्छ। मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोली भेडा–च्यांग्राको स्वास्थ्य परीक्षणमा खटिएको छ। दसैं–तिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमासमेत ठूलो संख्यामा भेडापालन गरिएको छ। दसैंमा मात्रै म्याग्दीबाट ३ करोड रूपैयाँका भेडा बिक्री हुन्छन्। त्यस्तै मुस्ताङबाट ३० करोड रूपैयाँं हाराहारीमा भेडा–च्यांग्राको कारोबार हुन्छ ।  

प्रकाशित: १५ आश्विन २०७९ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App