१८ मंसिर २०७९ आइतबार
समाज

हिमालीबासीलाई टिकट पाउनै मुस्किल

दशैंमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ। तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरु यतिबेला नेपालगन्जमा दशैंमा घर जान नपाइरहेको पीडामा छन्। हुम्लाका लागि एकमात्र यातायातको साधन हवाइजहाजका कम्पनीहरुले काठमाडौँमै उडान केन्द्रित गराएपछि उनीहरुले टिकट पाएका छैनन्। यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान छैन। 

अहिले नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा उडान गर्न समिट एयरको एकमात्र जहाज छ। समिट एयरको जहाजका लागि पनि कर्मचारीहरुले टिकट नदिएपछि उनीहरु निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए।  

बिहीबार नेपालगन्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे। तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन्। विमान कम्पनीका कर्मचारीहरुले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए। समिट एयरका कर्मचारीहरुले आइतबार उडान गर्ने सेड्युल रहेको विमानको टिकट पनि दिन मानिरहेका थिएनन्। ती कर्मचारीहरुले भन्दै थिए, ‘हामी यहाँ बसेर सेवा दिइरहेकाहरुलाई पेल्ने। तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्लातिर गएका कम्पनीहरुलाई केही नभन्ने ?’

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोखे। उनले विमान कम्पनीहरुले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीबासीको अधिकार खोखिएको बताए। अहिले विमान कम्पनीहरुले कर्णालीका जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ। 

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगन्जमा छैन। नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो। भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन्। नेता तथा पहुँचवाला र तिनका आफन्तहरुले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ।  

यस्तो अवस्थामा पनि नेपालगन्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन। कति यात्रुहरु कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीहरुसँग छ न विमानस्थल प्रशासनसँग। कर्णालीबासी सर्वसाधारणहरु भने दशैंको मुखमा घरको याद मनमा बोकेर भौंतारिइरहेका छन्। चुनराज शाहीले भने, ‘चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरु अहिले कता छन् थाहा छैन।’

प्रकाशित: १४ आश्विन २०७९ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App