८ वैशाख २०८१ शनिबार
समाज

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ। दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए।  

उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ। नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ।  

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।  

चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्यभन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ।  

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो।

प्रकाशित: १४ आश्विन २०७९ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App