coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मधेसमा मौलिक पर्वको उल्लास, दशैँमा झिझियाको रौनक

लहानको दुर्गा मन्दिरमा पूजाअर्जना गर्दै श्रद्धालु।

मिथिलाञ्चलमा वर्षमा चार वटा वनरात्रा मनाइन्छ। आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी चार वटा नवरात्र मनाइन्छ। यीमध्ये अश्विन शुक्ल नवरात्रा विश्वभरका हिन्दु धर्मावलम्बिहरु निष्ठा एवं उल्लासका साथ मनाउने गर्छन्। चैत्र शुक्ल र आश्विन शुक्लपक्षको नवरात्रा मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ।

जसमा श्रद्धालुहरु शक्तिको आराधना गर्ने गर्दछन्। आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ। यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन्। दशैँको पहिलो दिन घटस्थापनाका दिन शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ।

जहाँ नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ। नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको शूर्यनारायण सत्यनारायण मरबैता बहुमुखी क्याम्पस सिरहाका मैथिली भाषाका सह प्राध्यापक उमेश झा (ललन) ले बताए।

सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने विश्वास छ। दशैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ, झाले भने।

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले पूजाकोठा वा दशैं घर लिपपोत गरिन्छ। विधिपूर्वक दीप, कलश स्थापना गरी पूजा गरिन्छ। सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको आह्वान गरेर पूजन हुने गर्दछ। यसरी पूजनपश्चात् सप्तधान्य छर्नु पर्दछ। भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गरेर नवरात्रा सम्पन्न हुन्छ, उनले भने।

भिझियाको रौनक

‘चल चल गे डैनी कदम तर तोहर वेटा के खैवौ वरहम तर।’ मैथिली भाषामा सुरिलो भाकामा गाइने यी यस्ता गीत र त्यसको तालमा नाचिने नृत्यमा अहिले मधेसका महिलाहरु झुम्न थालेका छन्। कुनै-कुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन्। घैंटामा बलिरहेको दियोको मद्धिम प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरु लोकअनुष्ठानमा सुर विर्सेर तल्लीन हुन थालेका हुन्छन्।

हिन्दुहरुको महान चाड वडादशैँको घटस्थापना सँगै मधेसका गाउँघरमा अहिले मैथिली भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ।

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइन बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छ। विजयादशमीको अवसरमा यस्ता घटनामा बृद्धि हुन थालेपछि महिलाहरुले नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीहरुको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरेको लोक भनाई छ, जो आजसम्म चलिरहेको छ।

झिझियामा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ।

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असत्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्न महिलाद्वरा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहित विशेष अर्थलाई संकेत गर्छ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ। झिझिया कुनै जाति विशेषको नभइ सम्पूर्ण मधेसी समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ।

आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घ जीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ। यसको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ। झिझिया नृत्य गर्दै गाइने गीतहरुमा बोक्सीलाई गाली गर्नका साथै भगवती दुर्गालाई अभ्यस्था गरिएका अत्यन्त मोहक गीतहरु पनि गाइन्छ। झिझिया नृत्य प्रारम्भ गर्नपूर्व तयारी गर्नपर्छ एउटा वा दुइटा स्वच्छ घैंटो किनेर ल्याइन्छ। त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सर्काइन्छ।

त्यसमा मट्टितेल हालेर दन्काइन्छ। त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात बोक्सीको आँखा नलागोस भनेर धामीद्वारा छेकबार गरिन्छ। मधेसमा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ। गाग्रिमाथि धन्किरहेको आगोको डल्लो लिएर नृत्य गर्न आफैंमा साहास र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य। समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभइ शहरमा समेत प्रचलनमा छ र यसलाइ निरन्तरता दिइँदैछ।

प्रकाशित: १३ आश्विन २०७९ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App