२३ मंसिर २०७९ शुक्रबार
समाज

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

फाइलतस्बिर

नेपालीको महान चाड बडादशैँ हाम्रो घर आगनमा आइसकेको छ। पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दशैँ सुरु भए पनि दशैँको रौनक र मौलिकता भने कतै देखिएको छैन।

दशैँ सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो। रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दशैँको उत्सव सुरु हुने गर्दछ। विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन्।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ। म्याग्दीका ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन्। बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका बाबुराम उपाध्यायले बताए। एक समय थियो, दशैँ भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो। गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो।

बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो। अहिले यी सबै चलन हराउँदै गएकाले दशैँको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ। दशैँमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो। दशैँ सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका मड्किनामा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथि्याे। तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगन्य रहेको स्थानीयवासी हेमकुमारी सापकोटाले बताए।

त्यसैगरी दशैँका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो। तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन्। गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ। ढिँकीजाँतोदेखि नै छोडेका छन्। दशैँमा यी प्रचलन सबै लोप हुँदै गएका छन्।

दशैँ पहिलेको भन्दा महँगो र पृथक बन्दै गएको ज्यामरुक कोटका रामकृष्ण घिमिरेले बताए। रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ)लगाउन थालिएको छ। प्रत्येक घरबाट एक/एकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ। 'गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ। त्यस्तै पिङ लोप हुँदै गएका छन्। दशैँका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ। दशैँको मौलिकता नै हराउँदै गएको छ', पश्चिम म्याग्दीको रणबाङका पण्डित हरिकृष्ण पौडेलले बताए।  

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैँ पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ। पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो। अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैँ दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन्। रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैँको आभाष हुने गरेको थियो।

प्रकाशित: १३ आश्विन २०७९ १७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App