coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

केवल र नेटका तारलाई व्यवस्थित बनाउन महानगरको निर्देशन

विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउन सेवाप्रदायक संस्था र कम्पनीलाई निर्देशन दिएको छ। बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो।  

विराटनगरको सौन्दर्यकरणका लागि केवल र नेटको तरालाई व्यवस्थित पार्न जरुरी रहेको भन्दै महानगरले तत्काल तार व्यवस्थापन गर्न सेवाप्रदायकहरूलाई निर्देशन दिएका हुन्। मेयर नागेश कोइरालाले महानगरपालिकाले अव्यवस्थित र सडकमा लत्रेका तारहरू काट्न सक्ने भए पनि सेवा प्रदायकलाई नै बोलाएर कात्तिक मसान्त भित्र तार व्यवस्थित गर्न आग्रह गरिएको बताए।

‘विराटनगरलाई सुन्दर बनाउने दायित्व सबैको हो। अव्यवस्थित तारलाई व्यवस्थित पार्न एक पटकलाई बोलाएका छौं’, कोइरालाले भने, ‘महानगरपालिकाको आग्रहलाई अटेर गरी तत्काल तार व्यवस्थित नबनाए महानगरपालिका एक्सनमा उत्रिन्छ।’ जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको मेयर कोइरालाको भनाइ छ। 

तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए। पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए। विराटनगरमा ४० प्रतिशत तार मात्रै काम लाग्ने रहेका छन्। बिग्रिएका तार पोलमै छाड्दा  शहरका पोल  भरी तारको जालो ले शहर फोहोर भएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App