coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाममा पर्यटक आकर्षित गर्न रक क्लाइम्बिङ

इलाम नगरपालिका–८, महभिरको रक क्लाइम्बिङमा युवा।

इलाम आउने पर्यटकको बसाइ लम्ब्याउन इलाम नगरपालिका–८, महभिरमा रक क्लाइम्बिङ पूर्वाधार तयार गरिएको छ। एड्भेन्चर टुरिज्मको अवधारणासँगै यहाँको भिरलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गरिएको हो।

साहसिक पर्यटन प्रवद्र्धनका लागि २०७३ सालमा यहाँ पूर्वाधार निर्माण थालिएको हो। यहाँको करिब सय मिटर अग्लो भिरमा चढ्न सक्नेगरी पूर्वाधार तयार गरिएको पूर्वाधार निर्माण समिति अध्यक्ष उमेश महतले बताए। यसको परिपरि रेलिङसहितको सिँढी निर्माण गरिएको छ। नजिकै आकर्षक झरना पनि छ। समितिले स्थानीय १० युवालाई तालिम दिएर रक क्लाइम्बिङ गर्न आउने पर्यटकलाई सहजीकरणका लागि तयार गरेको महतले बताए।  

‘अहिलेसम्म यो रक क्लाइम्बिङको प्रचार–प्रसार नै कम भएकाले पर्यटकको संख्या न्यून छ,’ उनले भने, ‘साहसिक पर्यटनका लागि आउने पाहुनाले यहाँ एड्भेन्टर टुरिज्मको मज्जा लिन पाउँछन्।’ यहाँ आउने पर्यटकका लागि स्थानीय घरहरूमा होम स्टे व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए। ‘पर्यटकको आउ–जाउ बढ्दै गयो भने त्यसैअनुसार आवश्यक पूर्वाधार थप गर्दै लगिने छ,’ उनले भने, ‘सदरमुकाम इलाम बजार पनि नजिकै भएकाले यहाँसम्म आउन पर्यटकलाई टाढा छैन।’  

तर, इलाम बजारबाट यहाँसम्म आइपुग्ने सडक व्यवस्थित छैन। करिब ५ किलोमिटरमात्रै रहेको यो सडक ग्राभेलसम्म नहुँदा पर्यटक आउ–जाउमा समस्या भएको अध्यक्ष महतले बताए। ‘हामीले रक क्लाइम्बिङको पूर्वाधार त तयार ग¥यौं तर यहाँसम्म आउने सडक चाहिँ राम्रो नहुँदा पर्यटकहरू चाहेर पनि यहाँसम्म आउन अन्कनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘हामीले स्थानीय सरकार र सरोकारवालासँग सडक मर्मत र सुधारको प्रस्ताव गरेका छौं।’  

वडा नम्बर ८ का वडाध्यक्ष दलमान तामाङले यो क्षेत्रको विकासका लागि वडा र नगरले योजना बनाउने बताए। ‘रक क्लाइम्बिङसहित वरपर थप पर्यटकीय पूर्वाधारसमेत विकास गर्न वडाले योजना बनाउने छ,’ उनले भने, ‘रक क्लाइम्बिङमात्र होइन, यहाँ पर्यटन प्रवद्र्धनका लागि अरू पनि गन्तव्य तयार गर्न सकिन्छ।’

प्रकाशित: १३ आश्विन २०७९ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App