८ वैशाख २०८१ शनिबार
समाज

पोखरा महानगरले खालि गरायो भूमिगत पार्किङका लागि आफ्नै भवन

बजार क्षेत्रमा पार्किङको समस्या बढ्दै गएपछि पोखरा महानगरपालिकाले भूमिगत पार्किङ खाली गरी पार्किङको लागि खुला गरेको छ। सडक क्षेत्रमा पार्किङ हुँदै आएपछि महानगरको चर्को आलोचना हुँदै आएको थियो। महानगरले पनि सडकमै पार्किङको व्यवस्था हटाउने निर्णय गरिसकेको छ।

पोखरा महानगरपालिकाले सृजनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङको लागि खुला गरेपछि सर्वसाधारणले सहज पार्किङ पाउने छन्। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङसहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका भन्दै महानगरले आफ्नै स्वामित्वको भवनबाटै भूमिगत पार्किङ खुला गरेको हो।

गएको भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो। महानगरले सूचना अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी अभियान सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङसहित निर्माण गरिएका घर छन् घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागि प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु,’ प्रमुख आचार्यले भने। पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ सांकेतिक रुपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले स्पष्ट पारे।  

बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमतिलिइ निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताए। ‘यसको कार्यान्वयनकालागि ३५ दिने सूचना हितपत्र समेत पठाइएको  छ,’ प्रमुख आचार्यले भने, ‘पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागि उपयोग गर्न आग्रह गरिएको गरिसकिएको छ।’  

सूचनाको म्याद गुज्रिएपछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उनले जानकारी दिए। भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उनको भनाइ छ। भूमिगतपार्किङमा सञ्चालन गरिएका व्यवसायहरू तोकिएको समयभित्र नै स्थानान्तरण गर्न उनले  व्यवसायीहरूलाई आग्रह गरे।  

यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए। उनका अनुसार पोखरा महानगरपालिकाभित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन्।

प्रकाशित: १३ आश्विन २०७९ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App