coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुन्दुरटार नहर निर्माण अलपत्र: ठेकेदार खोज्दै कार्यालय

कुन्दुरटार सिंचाई आयोजनाको अवरुद्ध नहर। तस्विर: नागरिक

कुन्दुरटार सिंचाई आयोजनाको नहर निर्माण जिम्मा लिएका निर्माण व्यवसायी सम्पर्क बिहिन भएका छन्। काम अलपत्र छाडेर सम्पर्क बिहिन भएका निर्माण व्यवसायीको कार्यालयले खोजी गरिरहेको छ।

मुहानदेखि ३४ सय मिटरसम्मको पहिलो खण्ड र ३४ सय देखि ६३ सय मिटरसम्मको दोस्रो खण्डको  अन्नपूर्ण कन्ट्रक्सनले जिम्मा लिएको हो। निर्माण व्यवसायी राजेन्द्र सुनार काम रोकेर कार्यालयको सम्पर्क बाहिर छन्। दुई करोड ११ लाखमा नहर निर्माणको ठेक्का सम्झौता भएको हो।  

‘निर्माण पूरा नभएका आयोजनाको २०८० असार मसान्तसम्म म्याद थप्ने सरकारले निर्णय गरेको छ’ कुन्दुरटार पालुङटार सिंचाई आयोजनाका सव इन्जिनियर बिकलबिनोद चौधरीले भने ‘म्याद थपका लागि कागजात माग्न निर्माण व्यवसायीलाई खोजी ग¥यौँ तर सम्पर्कमा छैनन।’ असार यता नहरमा काम नभएको र व्यवसायी पनि सम्पर्कमा नआएको उनले बताए।  

२०७८ जेठ १० गते यो प्याकेजको काम सक्नुपथ्र्यो। पहिलो प्याकेजको २८ र दोस्रोको २१ प्रतिशत मात्रै भुक्तानी भएको छ। पहिलोको करिब ४५ र दोस्रोको २८ प्रतिशत भौतिक प्रगती भएको सव इन्जिनियर चौधरीले बताए।  

६३ सयदेखि ७८ सयसम्मको रुद्रेश्वर कन्ट्रक्शनले निर्माणको जिम्मा लिएको छ। करिब एक करोडको ठेक्का लागेको उक्त खण्डमा ४५ प्रतिशत काम सकिएको छ। २०७९ बैशाखमा ठेक्का सम्झौता भएको यो खण्डको म्याद २०८० बैशाख सम्म रहेको सव इन्जिनियर यादवले बताए। ‘तेस्रो प्याकेजको गती तिब्र छ तर पहिलो र दोस्रोमा काम नभएपछि तेस्रो प्याकेज मात्रै बनेर पानी चलाउन सकिँदैन’ उनले भने। पहिलो र दोस्रो प्याकेजमा काम हुने हो भने छेपेटारसम्म पानी चलाउन सहज हुने उनले बताए।  

सम्पर्क बिहिन भएका निर्माण व्यवसायीका बारेमा जिल्ला प्रशासन कार्यालयमा पनि पत्राचार गरिएको र बिभागमा पनि जानकारी गराइएको कुन्दुरटार पालुङटार सिंचाई आयोजनाका प्रमुख दिनेश आचार्यले बताए। ‘काम गराउन निर्माण व्यवसायीलाई खोजी गर्दा सम्पर्कमा आउँदैनन, हामीले धेरै प्रयास गर्‍यौँ तर काम सन्तोषजनक हुन सकेको छैन।’ काम लामो समय रोकिएमा कारबाहीको प्रक्रियामा जाने उनले बताए।  

निर्माण कम्पनीले भने नहरसम्म सडक पहुँच नभएको, कामदार बस्ने खाने ठाउँको समस्या रहेको, बजार र बस्तीबाट नहर टाढा भएकाले कामदार नटिक्ने गरेको बताउँदै आएको छ।  

दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा सुरु भएको २० वर्ष भयो तर पानी बगेको छैन।  

गोरखा नगरपालिका वडा नं. १०, ११ र १२ मा पर्ने खेतियोग्य जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनाको काम २०६२ मा रोकियो। २०७६ सालदेखि गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भएपछि पनि गती सुस्त छ।

२०५९ सालमा प्राविधिकहरुले करिब पाँच करोड नहर पुरा गर्न सकिने स्टमेट गरेका थिए। अहिले आयोजना सम्पन्न गर्न ५० करोड लाग्ने अनुमान कार्यालयको छ। आयोजनाको नहर स्थलमा घर, टहरा लगायतका संरचना बनेकाले पुरा गर्न चुनौती रहेको स्थानीय बताउँछन्। बनेको संरचना भत्काउँदा मुआब्जा दिनुपर्ने, सडक, जग्गा जमिनको संरक्षण गरेर मात्रै नहर बनाउनुपर्ने माग स्थानीयले राख्दै आएका छन्।  

सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटार लगायत ठाउँका जमिन बाँझो छ। खेतीयोग्य जमिनलाई इट्टाभट्टा र व्यवसायीक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चउर बनेर बाँझो बसेको छ।  

प्रकाशित: १३ आश्विन २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App