८ वैशाख २०८१ शनिबार
समाज

कोरोनापछि उत्साहित दसैं बजार

लामो समयदेखि ललितपुरको संकटामा व्यापार–व्यवसाय गर्दै आएकी अनिता श्रेष्ठले एक महिनायता एकजना सहयोगी कर्मचारी राखिन्। विगतमा दसैं, तिहार र छठ पर्वहरूमा उपभोक्ताको भीडका कारण एक्लै काम गर्न समस्या भोगेकी श्रेष्ठले यसपटक सहयोगी कर्मचारी राखेकी हुन्। नेपालीहरूको महान् चाड दसैं सुरु भएसँगै यो वर्ष पनि बजारमा उपभोक्ताको भीड देखिएको छ।  

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू  पनि छन्।

ललितपुर कुमारीपाटीस्थित युएफओ ब्रान्डकी कर्मचारी ममता तामाङले अहिले दसैंका लागि चाहिने घरायसी सामान तथा नयाँ कपडा खरिद गर्ने मानिसको घुइँचो लागेको बताइन्। उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दसैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ।

श्रेष्ठले दसैं नजिकिएपछि सर्वसाधारणको भीडका बीचमा चोरको बिगबिगी बढेको जानकारी दिइन्। ‘बजारमा भीड बढेसँगै पर्स, सामान लगायतका गरगहना चोरी हुने गुनासा आएको छ’, व्यापारी श्रेष्ठले भनिन्, ‘भीडको मौका छोपी पसलबाट पनि चोरी हुने गरेको छ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथमा सामान बेचबिखन गर्न बन्देज गरेसँगै विभिन्न सपिङ सेन्टरलगायत अन्य व्यापारिक भवनमा रहेका पसलमा सर्वसाधारणको घुइँचो बढेको सिभिल महलमा वर्षौं अघिदेखि व्यापार गर्दै आएका व्यवसायी बताउँछन्। अघिपछि सुनसान हुने बजारहरू हिजोआज जताततै सामान किन्ने र बेच्नेको भीड देखिएको छ। उपत्यकाको सबैभन्दा पुरानो  बजार न्युरोडभित्र पनि सबैभन्दा बढी रमझम छ।

व्यापार मात्र होइन; दसैंमा टीकासँगै दक्षिणा दिनका लागि बैंकमा नयाँ नोट साट्ने सर्वसाधारणको लाइन पनि उत्तिकै हुने गरेको छ। खसी बजारमा खसी किनबेच गर्नेको लर्को उक्तिकै छ भने घर फर्कने मानिसको टिकट काउन्टरमा लाइन पनि बाक्लै हुने गरेको छ।

नेपाली परम्परा अनुसार दसैंमा नयाँ लुगा, खसी, घरायसी विभिन्न सामान खरिद गर्ने प्रचलन छ। एक महिनायता भीड सुरु भएको भोटेबहालमा केही वर्षदेखि व्यवसाय चलाउँदै आएकी रञ्जना सत्याल बताउँछिन्। महँगी बढे पनि ग्राहकको आवश्यकता झनै धेरै बढ्दै गएको उनको धारणा छ।

विगतमा सस्तो मूल्यमा सामान पाइने लोभले फुटपाथमा राखेका सामान धेरै बिक्री हुन्थे तर अहिले मेयर बालेनले फुटपाथमा सामान बेचबिखन गर्न नदिएपछि ग्राहक आफ्ना पसलमा सीधै आउने गरेको सत्यालले बताइन्। यही कारण दसैंमा राम्रो व्यापार भएको उनी बताउँछिन्। ‘पहिले दसैंको मुखमा आइपुग्दा पनि दाल, चिनी, मरमसला, कपडा आधाआधा रहन्थ्यो’, सत्यालले भनिन्, ‘यसपालि करिब दसैंसम्ममा अनुमान लगाएभन्दा बढी बिक्री हुने आशा छ।’

दुई वर्षअघि सुरु भएको कोरोनाका कारण पछिल्लो दुई वर्षको दसैं व्यापार चौपट भएको थियो। कोरोनापछि व्यापार-व्यवसाय ह्वात्तै घटेर लगानी डुब्ने अवस्थामा पुगेकामा अहिले क्रमशः राम्रो हुँदै गएको व्यापारी बताउँछन्।

व्यापारी सत्यालले दसैंका लागि एक जोर लत्ताकपडा भए पुग्ने ठाउँमा प्रायः उपभोक्ताले दुईतीन जोर हालेको बताउँछिन्। ‘महँगी भने पनि आखिरमा महँगीले कसलाई छेकेको रहेछ र ?’, उनले प्रश्न गरिन् ।

विगतमा सामान खरिद गर्न कुनै एक ठाउँबाट मात्र सम्भव थिएन। घरघरका कबलमा खुलेका पसल चाहरेर आफूलाई आवश्यक सामान खरिद गर्नुपर्ने बाध्यता थियो तर अहिले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा ठूला सपिङ सेन्टरहरू खुलेका छन्। यसले एउटै सपिङ सेन्टरबाट उपभोक्ताले आवश्यक सबै सामान खरिद गर्न सक्ने अवस्था बनेको छ। भाटभाटेनी जस्ता सपिङ सेन्टरमा नुनदेखि सुनसम्म सबै सामान पाइन्छ। व्यापारीहरूका अनुसार सपिङ सेन्टरबाहेक दसैं बजार विशेषगरी काठमाडौंका असन, न्युरोड, सुन्धारालगायतका क्षेत्र बन्ने गरेका छन् भने ललितपुरको लगनखेल, कुमारीपाटीजस्ता क्षेत्रमा किनबेच बढेको छ। यस्तै भक्तपुरमा पनि सूर्यविनायक, मध्यपुर थिमीजस्ता क्षेत्रमा दसैंको किनबेच बढी हुन्छ।

यातायात व्यवसायीलाई भ्याइनभ्याइ

दसैंका लागि उपत्यकाबाट सर्वसाधारण घर फर्कन थालेपछि यतिखेर यातायात व्यवसायीलाई पनि भ्याइनभ्याइ छ। उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ। प्रहरीले उपत्यकाबाट दसैंमा २० लाख मानिस बाहिरिने अनुमान गरेको छ।

कोभिड १९ का कारण पछिल्ला दुई वर्ष मन खुलेर दसैं मनाउन घर जान पाएका थिएनन्। अहिले कोभिड १९ को सन्त्रास कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैं मनाउन थातथलो फर्कनेको संख्या बढ्ने अनुमान गरिएको हो। अहिले काठमाडौं उपत्यकामा डेंगी संक्रमण बढेकाले पनि केही दिन बाहिर जाने बढेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट गत दुई वर्ष कोभिड १९ का कारणले सर्वसाधारण खुलेर दसैं मनाउन उपत्यका बाहिर नगएकाले यो वर्ष धेरै सर्वसाधारण जान सक्ने बताउँछन्।

‘गत वर्षमा करिब ५ देखि ७ लाख मात्रै यात्रु दसैंलगायतका चाडपर्व मनाउन उपत्यका बाहिर गएका थिए’, उनले भने, ‘यो वर्ष कोभिड १९ को प्रभाव खासै नभएकाले करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेका छौं।’

गोंगबु बसपार्क व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध सञ्चालक सुनिल कुँवरले दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रु संख्यामा वृद्धि हुँदै आइरहेको बताए। उनका अनुसार अधिकांश यात्रुले असोज १२ देखि १५ भित्र जाने टिकट काटेका छन्। अहिले नयाँ बसपार्कमा दैनिक १० हजारभन्दा धेरै यात्रुले अग्रिम टिकट बुकिङ गर्दै आइरहेका छन् ।

बजार अनुगमन फितलो

दसैं-तिहारजस्ता भीडभाडको चाडपर्वमा कतिपय व्यापारीले उपभोक्तालाई बढी मूल्य लिने गरेको गुनासो पनि प्रत्येक वर्ष आउने गरेको छ। भीडभाडका बेला एकातिर उपभोक्ताले सामान छनोटको अवसर पनि कम पाउँछन् भने मूल्यमा पनि ठगिँदै आएका छन्। समस्या यो वर्ष पनि दोहोरिएकै छ।

उपभोक्ताको यस्तै गुनासोलाई हेरेर प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन त दिएका छन् तर कार्यान्वयन फितलो छ। काठमाडौंको न्युरोडमा दसैंका लागि लत्ताकपडा खरिद गर्न आएकी बानेश्वरकी पम्फा सेढाईले सबै सामान अचाक्ली महँगो भएको गुनासो गरिन्।

‘सबै सामान छोइनसक्नु महँगा छन्’, उनले नागरिकसँग भनिन्, ‘व्यापारीहरूले विदेशबाटै सामान महँगो भएर आएको बहाना बनाएर मूल्य बढाएका छन्।’

कोभिड, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै महँगी बढेको छ तर यही बहानामा केही व्यापारीले सामानको मूल्य आवश्यकभन्दा धेरै बढाएको सेढाईंको धारणा छ।

प्रधानमन्त्री देउवाले चाडपर्वका समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आआफ्नो क्षेत्राधिकार अनुसार बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवाला मन्त्रीहरूलाई निर्देशन दिएको चार दिन बितेको छ। यसबीचमा देखाउनका लागि बजारमा कुनै पनि मन्त्रालयले हस्तक्षेप गरेको छैन ।

प्रकाशित: १२ आश्विन २०७९ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App