coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकामा पर्यटकलाई स्वागत गरी मनाइयो विश्व पर्यटन दिवश

रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनी,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका बाह्य पर्यटकलाई स्वागत गरी ४३औं विश्व पर्यटन दिवश मनाइएको छ। नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका हो रुपन्देहीको बेलहिया नाका। सो नाकाबाट मंगलबार नेपाल भित्रीएका बाहय पर्यटकलाई ढाका टोपी, माला र खादा लगाएर स्वागत गरीयो। 

नाकामा गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकलाई ढाका टोपी लगाइदिनुका साथै बुद्ध मुर्ती उपहार दिएर स्वागत गरेका थिए। नेपाल भारत सिमानाका बेलहियाबाट मंगलबार प्रवेश गरेका भारतीय पर्यटक राकेश कुमार कच्छ र लालाराम, इजरायलका म्याक, क्यानडाका आरोन र चीनकी जुलाई गृहमन्त्री खाँणले स्वागत गरेका हुन्। पर्यटन दिवशको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले बेलहिया नाकालाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको पर्यटकीय नाकाको रुपमा विकास गरीने बताए।

भारत तथा अन्य मुलुकबाट आउने पर्यटकहरुलाई सिमा नाकामा सहज र सुरक्षित  प्रवेशको व्यवस्था मिलाउन उनले सुरक्षा निकायलाई निर्देशन पनि दिए। नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले सम्पदा र विविधताको संरक्षणमा सरकारले विशेष ध्यान दिएको बताए। ‘नेपालको विविधता र सम्पदाले हरेक पर्यटकलाइ लोभ्याउने भएकाले देशको समृद्धिको आधारशिलालाई जोगाउदै पर्यटन प्रबद्र्धन गर्नु आजको आवश्यकता हो’ गृहमन्त्री खाँणले भने ।

ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश र विश्व पर्यटन दिवस समारोह समितिको आयोजनामा बेलहियामा मंगलबार विशेष समारोह गरीएको हो। कार्यक्रममा बेलहियाबाट नेपाल प्रवेश गरेका पर्यटकलाई पञ्चेबाजा, झाँकीसहितका परम्परागत नृत्य तथा गौतमबुद्धको जीवनीसंग सम्बन्धित नाटक देखाइएको थियो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाकाबाट नेपाल आउने भएकाले प्रदेश सरकारले यो नाकामा विशेष समारोह गरेको पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले बताए। सिद्धार्थ होटल संघ रुपन्देहीका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले मंगलबार मनाइएको पर्यटन दिवशले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई उर्जा प्रदान गर्नुका साथै र पर्यटकलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

दिवसको अवसरमा नेपाल प्रवेश गर्ने पाँच जना पर्यटकलाइ संघले उनीहरु जाने पर्यटकीय स्थलसम्मको टिकट र एकदिनको खाना बस्ने खर्च नि शुल्क गरेको श्रेष्ठले जानकारी दिए। दिवसकै अवसरमा मंगलबार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा जजिरा एयरलाइन्सबाट नेपाल आएका र विमानबाट ओर्लने पहिलो यात्रुलाई पनी फुलमालाले स्वागत गरीएको थियो।

बुद्धजन्मस्थल लुम्बिनीमा पनि पर्यटकहरुलाई खादा मालाले स्वागत गरी विश्व पर्यटन दिवस मनाइयो। लुम्बिनी विकास कोष,लुम्बिनी होटल संघ र लुम्बिनी पर्यटन व्यवसायी संघले लुम्बिनी भ्रमणमा आएका होल्याण्ड, भियतनाम, स्पेन र भारतका पर्यटकलाइ खादाले सम्मान गरी झाकीसहित मायादेवि मन्दिर र शान्ति दिप सम्म घुमाएका थिए। लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती हृदयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भित्रु मैत्तेय, कोषका सदस्य सचिव सानुराजा शाक्य लगायले पर्यटकलाई स्वागत गर्दै कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले अव गती लिने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ आश्विन २०७९ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App