१६ चैत्र २०८० शुक्रबार
समाज

मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते

मनास्लु बेस क्याम्प। तस्बिर: पूर्णिमा श्रेष्ठ

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। नौमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सामागाउँस्थित पर्यटन विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले बताइन्।  

सोमबार करिब १२ बजेतिर झरेको पहिरोमा परी एक नेपाली नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ती व्यक्तिको पहिचान हुन भने बाँकी छ। ‘पहिरोमा १२ जनाको टोली परेको रहेछ, नौजना घाइते भए, सकुशल दुई जनाले हिउँपहिरोबाट घाइतेको उद्धार गर्नुभयो,’ उनले भनिन्, ‘घाइतेमध्ये दुई जना गम्भीर अवस्था भएकालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ।’ उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ। अन्य सातजना घाइते हिउँमै छन्।

अर्यालका अनुसार सिम्रिक एअरको हेलिकोप्टरले दुईजना घाइतेलाई दुई पटकमा उद्धार गरेको थियो। ती घाइतेलाई सामागाउँबाट भने कैलाश एअरको हेलिकोप्टरले काठमाडौं लगेको उनले बताइन्। मौसम प्रतिकूल हुँदा उद्धारमा भने कठिनाइ भएको छ। उद्धारका लागि कैलाश, हेलि एभरेस्ट र सिम्रिक एअरलाइन्सका हेलिकोप्टर उडेका थिए। ‘आठ नौ पटक उड्दा पनि रेस्क्यु गर्न सकेनन्,’ सम्पर्क अधिकृत अर्यालले भनिन्। बेस क्याम्पबाट पनि शेर्पाहरू घाइतेको उद्धारका लागि ‘क्याम्प थ्री’तर्फ गएका छन्। अहिले मनास्लु बेस क्याम्पमा तीन÷चार सय विदेशी र पाँच सय हाराहारी शेर्पाहरू रहेको उनले बताइन्।  

मनास्लुको तेस्रो र चौथो शिविरको बीचमा पहिरो गएको हो। दिनभर बादल लागेकाले हेलिकोप्टर उडाउन समस्या भएको दुईजना घाइतेको उद्धार गरेका सिम्रिक एअरलाइन्सका क्याप्टेन सुरेन्द्र पौडेलले बताए। ‘क्याम्प थ्रीतिर मौसम ठिकै थियो। तर तलतिर बादल लागेर दिनभर उड्न समस्या भयो,’ क्याप्टेन पौडेलले भने, ‘उद्धार गर्न सहज भएन, अहिले सामागाउँमै बसेका छौं।’ मंगलबार बिहान मौसम खुलेपछि उद्धार गरिने उनले बताए।  

पहिरोमा फसेकाहरूको शेर्पाहरूले उद्धार गरेका थिए। हेलिकोप्टर पटकपटक उद्धारका लागि आउँदै फर्कंदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताइन्। केही दिनअघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो। बेस क्याम्पमा रहेका र पहिलो, दोस्रो, तेस्रो आधार शिविरका अन्य सबै सकुशल छन्।  

‘हिजोआज हिउँ धेरै परेको छ, म पनि आरोहण गर्न सकिन्, क्याम्प ३ मा तीन दिन सुतेर फर्किनुपर्‍यो,’ मनास्लु आरोहण गर्न पुगेकी आरोही पूर्णिमा श्रेष्ठले भनिन्। हिउँ धेरै पर्ने, पहिरो बग्ने, बाटोहरू पुरिने हुँदा आरोहीहरूलाई समस्या भएको उनले बताइन्। किलर माउन्टेन भनेर चिनिने मनास्लु आठ हजार एक सय ६३ मिटर अग्लो छ। यो मनास्लु हिमाल आरोहणको मुख्य सिजन हो।  

मनास्लु हिमाल आरोहणका लागि कति जनाले अनुमति लिए? कहिले को आरोही जाँदै छन् भन्नेबारे जिल्लामा भने कुनै जानकारी हुँदैन। ‘जिल्लामा सबै विवरण नहुँदा दुर्घटनाका बेला सहजीकरण गर्न, उद्धार गर्न समस्या हुने रहेछ,’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने। चार्टर फ्लाइटको जानकारी दिइए पनि कहिलेकाहीँ फ्लाइट यकिन समयमै नहुँदा कति जना मनास्लु गए, कुन दिन गए भन्ने तथ्यांक राख्न समस्या भएको उनले बताए। यसअघि सन् २०१२ मा पनि मनास्लुमा हिउँ पहिरो गएको थियो। 

प्रकाशित: ११ आश्विन २०७९ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App