७ वैशाख २०८१ शुक्रबार
समाज

वर्षाले सडक भत्काएपछि दशैँ तिहार यात्रा कष्टकर

गाईघाट–लिमचुङबुङ हिलाम्य सडकमा लामबद्ध बोलेरो गाडी।

मध्येवर्षा (साउन–भदौ) काटेर असोज दोस्रो साता लाग्दासम्म वर्षा हुन नछाड्दा उदयपुरका अधिकतर पहाडी भेगका सडकहरु यातायात सञ्चालन हुन नसक्ने अवस्थामै छन्। वर्षाकै कारण पहिरो र हिलोले भत्के बिग्रेपछि नजिकिएको दशैँ, तिहारमा आउ-जाउ गर्न स्थानीयबासीलाई हम्मे परेको छ।

यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।

लिमचुङबुङ गाउँपालिका जोडिएको गाईघाट–मुर्कुची–पुवारे–माझखर्क सकड धेरै ठाउँमा भत्केका कारण यातायत चल्न छाडेको ६ महिना बितिसकेको छ। स्थानीयलाई सस्तो भाडामा सदरमुकाम आउ–जाउ गर्ने उद्देश्यले गाउँपालिकाले ५० लाख हाराहारीमा खरिद गरेर सञ्चालनमा ल्याइएको ‘लिमचुङबुङ एक्सप्रेस’ याबुबाहक बस सरडक बिग्रेकै कारण चल्न छाडेको छ। वर्षाले सडक भत्काएपछि समयमा मर्मत नभएका कारण गत वैशाख/जेठदेखि उक्त बस थन्किएर खिया लागिसकेको अवस्थामा पुगको स्थानीय बताउँछन्।

गाउँपालिकाको सँगै निजी यात्रुबाहक बस पनि ४/५ महिलायता चल्न छाडेपछि लिमचुङबुङ–गाइघाट आउ-जाउ गर्न बोलेरो र ट्याक्टरको मात्र भर पर्नु परेको छ। ‘फोर ह्विल’ बोलेरो मात्र समस्याका साथ चल्ने भए पनि कतिखेर वर्षा भएर बाटो भत्कने भन्ने यकिन नहुँदा यात्रा धेरै कष्टकर हुने गरेको बोलेरो चालकहरु बताउँछन्।

बोलेरो चालक दिपक मगरका अनुसार हिउँदयाममा साढे ३ घण्टामा पुगिने लिमचुङबुङ–गाईघाट गर्न अहिले ९/१० घण्टासम्म लाग्ने गरेको छ। बाटो खराब भएकैले बनाउँदै हिड्नु पर्दा ४ घण्टाको बाटो तीनगुणा बढी समय लाग्ने गरेको उनले बताए। अर्का बोलेरो चालक रिन्जी शेर्पाले बिहान ७ बजे हिडेको बोलेरो कहिले काही साँझ साँझ ५/६ बजे मात्र गन्तव्य पुग्ने गरेको बताए।

उनका अनुसार त्यै पनि एउटा मात्र बोलेरो हिड्न डरमर्दो भएकाले ३/४ वटा मिलेर हिड्ने गरेका छन्। एउटा मात्र बोलेरो हिड्दा बिग्रेको सडकमा फसे, पहिरोले पुरिए निकाल्न नसक्ने भएकाले सल्लाह गरेर ४/५ वटा सँगसँगै हिड्ने गरेको शेर्पाले बताए। ‘एक/दुई पटक एक्ला–एक्लै हिड्दा बाटोमा जाँदा-जाँदै सडक बिग्रेर फस्न पुगेर धेरै दुःख पाइयो’ चालकहरुको अनुभव छ ‘त्यसपछि जहिल्यै हामी सल्लाह गरेर कम्तीमा ३ वटा नत्र ४/५ वटा बोलेरो एकैचोटी आउ–जाउ गर्छौँ।’

धेरै वटा गाडी सँगसँगै हिड्दा बीचमा सडक बिग्रे भत्के मिलेर बनाउने तथा एउटा गाडी फसे अर्कोले तानेर निकाल्न सहज हुने अर्का चालक रविन राई बताउँछन्। वर्षाले सडक बिग्रेको बिग्रेकै गरेपछि एम्बुलेन्ससम्म राम्ररी चलाउन नसकिने अवस्था भएकाले बोलेरोबाहेकका गाडी चलाउन धेरै हम्मे भएको उनी बताउँछन्।

सडक बिग्रे भत्केको तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण भाडा पनि महँगो हुन पुगेको छ। लिमचुङबुङ–गाइघाटका लागि बोलेरोले जनही १ हजार ५ सय भाडा लिने गरेको यात्रुहरु बताउँछन्। गतवर्षसम्म निजी यात्रुबाहक बसमा ९ सय र बोलेरोमा १ हजार लाग्दै आएको भाडा यसवर्षदेखि ह्वात्तै बढेको यात्रुहरुको गुनासो छ।

निजी बसले ९ सय लिँदै आएको भाडा गाउँपालिकाले सञ्चालनमा ल्याएको बसले ६ सय लिने गरेको थियो। तर, वर्षा लागेसँगै सडक बिग्रेको भन्दै सरकारी बस चल्न छाडेपछि निजी यातायातले मनपरी भाडा असुल्न थालेको उनीहरुको गुनासो छ। कहिलेकाही लगातार ३/४ दिनसम्म वर्षा हुने गर्दा यात्रा थप कष्टकर हुने चालकहरुको भनाइ छ। यात्रुले भाडा महँगो भएको गुनासो गरे पनि आफूहरुलाई त्यत्तिले पनि पोष नआउने चालकहरु बताउँछन्।

वर्षायाम, बिग्रेको सडक, मौसमको भर नहुने र तेलको भाग अचाक्ली वृद्धि भएकाले पनि भाडा महँगो हुन पुगेको चालक शेर्पा बताउँछन्। पहाडी भेगका सबै सडक ध्वस्त भएकाले बनाउँदै हिड्नुपर्ने बाध्यतासँगै तेलको भाउ आकाशिएकाले भाडा बढाउँन बाध्य हुनु परेको उनको भनाइ छ। यात्रुबाहक र मालबाहक गाडीहरु केही नचल्ने भएपछि मान्छे र सामान बोलेरोकै भरमा आउजाउ गर्नु परेको छ।

उता ताप्ली र रौतामाई गाउँपालिकाको हालत पनि लिमचुङबुङभन्दा खासै कम छैन। ताप्ली कटारी बजारसँग जोडिएकाले सबै उपभोग्य सामग्री कटारीबाटै लाने तथा स्थानीय उत्पादनहरु कटारीमै ल्याएर बेच्ने गरिएको छ। तर, हरेक वर्षायाममा सिद्धिचरण लोकमार्गसँग जोडिएको कटारी–बेतिनी–ताप्ली सडक बिग्रने गरेको छ। वर्षायाममा भत्कने तथा पहिरो जाने गरेको कच्ची सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएकाले ताप्लीबासीलाई पनि सडक समस्या उत्तिकै रहेको गाउँपालिका अध्यक्ष ढुंगराज बिक बताउँछन्।

गाईघाटदेखि मुर्कुचीसम्म पुग्न मदन भण्डारी लोमार्गले जोडिएकाले सहज भए पनि त्यसभन्दा माथि पुवारे हुँदै गाउँपालिका केन्द्र भुट्टार पुग्न कच्ची र साँघुरो सडक वर्षाले बिगारेर यात्रा असहज बनाएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए। उनका अनुसार हरेक वर्ष सडक मर्मत गर्दै आए पनि वर्षापछि जस्ताको तस्तै हुने गरेको छ। दैनिक उपभोग्य सामग्री सदरमुकामबाटै ल्याउनु पर्ने भएकाले सडक बिग्रेपछि रौतामाईबासीको दिनचर्यामा यसले गम्भीर प्रभाव पार्ने गरेको अध्यक्ष मगरले बताए।

उसो त सदरमुकाम त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाका पहाडी वडाहरु जोडिएका सडकको पनि अवस्था उस्तै छ। धेरैजसो वडाहरु पहाडीभेगमा पर्ने भएकाले वर्षाले सडक बिग्रेर गाडी चल्न नसक्दा स्थानीयको दिनचर्या कष्टकर बन्ने गरेको छ। त्रियुगा नगरपालिकाको ५ नं. वडामा पर्ने दमौटी दिहात पर्ने भएकाले सडक सुविधाबाट वञ्चित छ।

त्यस्तै १४, १५ र १६ नं. वडाहरु पूर्णरुपमा पहाडी भेग भएकाले वर्षा लागेपछि यातायात सेवा असहज हुने गरेको छ। अधिकतर गाउँबस्तीसम्म कच्ची सडक पुगेको भए पनि बजेट अभावले स्तरोन्नति र समयमा मर्मत हुन नसक्दा नगरबासी भएर पनि विकट गाउँले जीवन बिताउनु पर्ने बाध्यता रहेको १६ नं. वडाध्यक्ष माबहादुर राई बताउँछन्। दशैँ तिहार नजिकिएका बेला वर्षा नरोकिँदा हिलाम्य र बिग्रेको सडकबाट आउ–जाउ गर्न पहाडी भेगमा धेरै समस्या भएको लिमचुङबुङ गाउँपालिका ५ का वडाध्यक्ष कविचन्द्र राईले बताए।

स्तरोन्नति र मर्मतका लागि पर्याप्त बजेट अभावमा समयमा सडक मर्मत हुन नसक्दा वर्षेनी पहाडी भेगका जनता पीडा भोग्नुपर्ने बाध्यतामा रहेको त्रियुगा १५ का वडाध्यक्ष हिमराज मगर बताउँछन्। स्थानीयतहको मात्र मुख ताकेर सडकको स्तरोन्नति नहुने भएकाले संघ र प्रदेशस्तरबाट पर्याप्त बजेटको व्यवस्था गर्न पनि त्रियुगा १५ का वडाध्यक्ष गणेश तिम्सीनाले माग गरे।

प्रकाशित: १० आश्विन २०७९ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App