१६ चैत्र २०८० शुक्रबार
समाज

सीमापारी दशैँको रौनक, वारी सुनसान

दशैँको बेला नयाँ सर-सामानहरु किनमेल गर्ने चलन छ। दशैँमा लत्ता कपडा, किरानाका सामान लगायतका सामाग्री किन्ने गरिन्छ। यो बेला व्यापार बढ्ने गर्दछ। तर कपिलवस्तुका व्यापारी भने दशैँका बेलामा समेत निराश बनेको छन्। 

किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलिहवाका व्यापारी निराश रहेको बताए।

उनले सस्तो पाइने भन्दै भारतीय खुनुवा लगायतका बजारमा उपभोक्ताहरु जाने गरेकोले यहाका व्यापारी मर्कामा परेको बताउँछन्। उनले यस तर्फ सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए। दशैँ जति नजिकिँदै छ, किनमेल पनि त्यति बढ्दै छ व्यापार चम्कदै छ तर नेपालमा होइन सीमा पारी’ कपिलवस्तुका व्यापारीहरुको पीडा हो यो। दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन्।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी लगायतका मुख्य बजारमा दशैको कुनै रौनक छैन। दशैँका लागि सस्तो, राम्रो र आर्कषक सामाग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीहरुको समस्या विगतका वर्षहरु भन्दा कम छैन यतिखेर। सीमापारीका बढ्नी, खुनुवा, अलीगढवा, लगायतका भारतीय बजारहरुमा यतिखेर नेपालीहरुको बाक्लो चलहपलह छ।

दशैँका लागि अत्यावश्यक वस्तु देखि विलासिताका सामाग्रीहरु समेत किन्न नेपालीहरु भारतीय बजारमा निर्भर देखिन्छन्। यसपालीको दशैँमा नेपालमा हरेका सामानमा मूल्य वृद्धि अचाक्ली बढेको छ । तरकारी, किराना सामान, कपडा, ईलेटिक्स, सौन्दर्य लगातयको सामानमा भारी वृद्धि हुनुले पनि यसपालीको दशैँमा भारतीय बजारमा नेपाली उपभोक्ताहरुको आकषर्ण बढेको छ। मुख्यगरी नेपाली उपभोक्ताहरु कपडालत्ता, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिज सम्म किन्न भारतीय बजार धाउने गरेका छन्।

सीमापारीका बजारहरुमा पाइने वस्तुहरु नेपाली बजारमा दोब्बर महंगो हुने भएकोले आफूहरु भारतीय बजार तर्फ आर्कषित भएको उपभोक्ताहरुको भनाइ छ। ‘ नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा २ हजार बढी पर्दैन, दशैँ खर्चिलो छ बचत त गर्नै पर्‍याे‘ चन्द्रौटाबाट मंगलबार बढीन किनमेलका लागि गएकी गीता नेपालले भनिन्।

खाद्यान्न वस्तुहरु पनि निकै सस्तो भएकोले उपभोक्ताहरु भारतीय बजारमा आर्कषित हुने गरेको देखिन्छ। जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल संचालन गरेमा उपभोक्ता भारतीय बजारमा कम मात्र जाने उभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे बताउछन्। 

पछिल्ला वर्षहरुको तुलनामा अहिले नेपालमै कपडालत्ता तथा जुत्ताचप्पल गुणस्तरीय तथा सस्तो पर्ने भएपनि उपभोक्ताको मानसिकतामा परिर्वतन नआएको नेपाली व्यापारीहरु बताउछन्। भारतीय बजार भन्दा पनि सस्तोमा लत्ताकपडा दिएपनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको ब्यापारीहरु गुनासो गर्छन्। भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महशुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महंगो हुन्छ।

कृष्णनगर भन्सार र मर्यादपुर भन्सार कार्यालयका अनुसार विगत एक साताको अवधिभित्र उपभोक्ताहरुले जिल्लाका विभिन्न सीमानाकाबाट कपडार उपभोग्य वस्तुको आयात बढेको छ। दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सार समेत नतिर्दा राज्यलाई समेत लाखौ राजस्व घाटा लागेको भन्सार कार्यालयले जनाएको छ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेयले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए। सानो वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए।

‘नेपालीहरुको मानसिकता सीमापारी सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीहरुले ठग्ने गर्दछन्’ उनले भने। नेपाली बजारमा अनुगमन गर्न सक्ने सम्भावना रहेपनि भारतीय बजारमा भने सो गर्न नसकिने हुँदा विगतका दिन सम्झेर भारतीय बजारमा किनमेल गर्न जानु मूर्खता रहेको उनी बताउँछन्।

प्रकाशित: १० आश्विन २०७९ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App