४ वैशाख २०८१ मंगलबार
समाज

दशैँ मनाउन घर फर्किनेको लर्को

फाइल तस्बिर।

दशैँ सुरु भएसँगै घर फर्किने नेपालीको नेपालगञ्जस्थित जमुनाहनाकामा घुइँचो लागेको छ। दशैँ  मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ। नेपालगञ्जस्थित जमुनाहनाका भएर दैनिक पाँच हजार व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए।  

उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ। दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन्।

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन्। मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन्। आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ।

दशैँका बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।  

भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न सुरक्षाकर्मी परिचालन गरिनुका साथै भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाहनाकामै नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ।  

दशैँलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, बैजनाथको सम्झनाचोक र चिसापानी, खजुराको धनौली र राप्तीसोनारीको कुसुममा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस

प्रकाशित: १० आश्विन २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App