coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कामक्ष्यदेवीका सञ्चालकद्वारा पाँच करोड ठगी

प्रभावकारी नियमन अभाव र गलत क्षेत्रमा लगानीजस्ता कारणले सहकारीमा रहेका सदस्यहरूको बचत असुरक्षित बन्दो छ। शृंखलाबद्ध रूपमा पूर्वका मुख्य सहरहरूमा सहकारी संस्थाबाट बचतकर्ता असुरक्षित हुने क्रममा इटहरीको कामक्ष्यदेवीले पाँच करोडभन्दा बढी ठगी गरेको खुलेको छ।

पछिल्लो समय इटहरीमै एकपछि अर्को सहकारी संस्थाले सर्वसाधारणलाई ठगी गरिरहेका छन्। एक महिनाअघि इटहरी उपमहानगरपालिका ९ मा सञ्चालित थालनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा हिनामिना गरेको सार्वजनिक भएको थियो। लगत्तै कामक्ष्यदेवी सहकारी संस्थाले ठूलो संख्यामा रहेका बचतकर्ताको पैसा नदिएर ठगी गरेको छ।

इटहरीकै बचतकर्ता युवराज श्रेष्ठको १६ लाख रूपैयाँ डुबेको छ। उनले सहकारी संस्थाका अध्यक्ष अनिल गौतमले बचतकर्ताको पैसा अन्यत्रै लगानी गरेर सर्वसाधारणलाई ठगी गरेको दाबी गरे। कामक्ष्यदेवी बचत तथा ऋण सहकारी संस्थामा साना पसल सञ्चालन गर्नेदेखि ठूला व्यापारीले समेत पैसा जम्मा गरेका थिए। झन्डै आठ सय बचतकर्ताको रकम सहकारीले फिर्ता गरेको छैन।

सहकारीले रकम नदिएर सञ्चालक समितिका अध्यक्ष गौतमले यसअघि पनि पैसा तिर्ने म्याद राखेर गुजारेका थिए। पीडितले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसमक्ष आग्रह गरेपछि अध्यक्ष गौतमलाई मिलापत्र गर्ने सर्तमा डाकिएको थियो। पीडितले गौतम भेट्नासाथ आक्रोशित भएका थिए। त्यसपछि उनलाई प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ।

बचतकर्ता संस्थाका अध्यक्ष गौतमले पाँच करोड ४५ लाख ५५ हजार १८३ रूपैयाँ ठगी गरेको रकम फिर्ता गर्नुपर्ने देखिन्छ। त्यसमध्ये तीन करोड ७६ लाख ३७ हजार ६ सय १६ रूपैयाँ मात्र ऋण लगानी भएको छ। बिनाधितो ऋण दिएका कारण लगानी फिर्ता आउने सम्भावना नभएको बचतकर्ताले बताएका छन्।

कामक्ष्यदेवी सहकारी संस्थाले राष्ट्रबैंकको नीतिविपरीत बिनाधितो पैसा लगानी गरेकाले सर्वसाधारणको पैसा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले सहकारीमार्फत ठगी गर्नेविरुद्ध कानुनी मुद्दा चलाइने तयारी भएको बताए।

प्रकाशित: १० आश्विन २०७९ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App