coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एमालेको मधेस मिसनको अर्थ

मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन्। उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन्।

 लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा निषेध गर्नेहरू नै निर्वाचन नजिकिएसँगै एमालेमै प्रवेश गर्न थालेका छन्। एमालेले मधेसमा पनि आफ्नो बलियो उपस्थिति देखाउन मधेसवादी दलका नेताहरूलाई पार्टी प्रवेश गराइरहेको छ।  

यसअघिका दुईवटा निर्वाचनमा एमालेलाई मधेस प्रदेशमा गम्भीर धक्का लागेपछि उसले पछिल्लो रणनीतिअनुसार मधेस प्रदेशमा ठुलो दल बन्न अन्य दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउन थालेको हो। मधेसवादी दलमा लागेका तर अवसर नपाएका नेता–कार्यकर्तालाई एमालेले आफ्नो पार्टीमा भिœयाउन थालेको छ। त्यति मात्र होइन, मधेसमा मधेसवादी र अन्य दलका निवर्तमान सांसदलाई पनि आफ्नो पार्टीमा ल्याएर त्यहाँ आफ्नो उपस्थिति बलियो बनाउन एमाले लागिपरेको छ।

  एमाले अध्यक्ष केपी शर्मा ओली आफैं मधेसमा केन्द्रित हुन थालेका छन्। एमाले अध्यक्ष ओलीले शनिबार जनकपुरधाम पुगेर लोसपा निवर्तमान सांसद एवं प्रमुख सचेतकसमेत रहेका उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाका निवर्तमान सांसद डा. रिना यादवसहितलाई पार्टीमा प्रवेश गराएका थिए।

यसअघि पनि एमालेले जनकपुरधामबाटै मधेसवादी दल र कांग्रेसका नेताहरूलाई पार्टीमा प्रवेश गराएको थियो। भदौ २७ गते जसपा प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जुकुमारी यादव, लोसपा नेता तथा पूर्वराज्यमन्त्री अरविन्द्र साह, कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। भदौ ५ मा पनि लोसपा सांसद प्रह्लाद गिरीले एमालेको टीका लगाएका थिए।

विगतमा एमालेलाई मधेस प्रदेशमा सहज रुपमा कार्यक्रम गर्न समेत सकस थियो । २०७३ फागुन २१ गते झापाबाट सुरु भएको एमालेको मेची–महाकाली अभियान २३ फागुनमा सप्तरी पुगेको थियो। त्यहाँ आयोजित आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैगर्दा मधेसवादी दलका कार्यकर्ताले आक्रमण गरेका थिए। त्यसपछि मधेसवादी दलले मधेसमा एमालेका नेतालाई निषेधको घोषणा गरेका थिए। त्यो घोषणासँगै एमाले मधेसमा कमजोर देखिएको थियो।

तर २०७४ सालको निर्वाचनपछि ओली नेतृत्वको सरकारले मधेसलाई विकास निर्माणमा प्राथमिकता राखेको भन्दै मधेसवादी र अन्य दलका नेता–कार्यकर्ता पार्टी प्रवेश गर्न थालेपछि उत्साहित एमाले अब त्यहाँ पहिलो पार्टी बन्ने महत्वाकांक्षा र रणनीतिसहित अघि बढेको छ।  

मधेस प्रदेशका आठवटा जिल्लाबाट संघीय प्रतिनिधिसभामा ३२ जना निर्वाचित हुन्छन्। विगतको निर्वाचनमा एमाले मधेसमा चौथो दल बनेको थियो। मधेसवादी दल र कांग्रेसको वर्चस्व रहेको मधेस प्रदेशमा अहिले एमालेले तिनै दलका नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याएर मत तान्ने रणनीति बनाएको छ। ‘अहिले मधेसमा एमाले प्रवेशको लहर चलिरहेको छ, केही दिनपछि यो क्रम थप बढ्नेछ’, एमालेका सचिव रघुवीर महासेठले भने, ‘एमालेलाई मधेस विरोधी भन्ने प्रचार गरिएको थियो, त्यो कुप्रचार मात्र रहेछ भन्ने अहिले खुलेको छ। त्यसैले मधेसमा क्रियाशील अन्य दलका नेता–कार्यकर्ता एमाले प्रवेशको लहर चलेको हो।’

गत वर्षको भदौमा एमाले विभाजन भएपछि केही नेता माधव नेपालतिर लागे। पार्टीमा खाली रहेका पदमा अन्य दलबाट आउने नेताहलाई एमालेले स्थान दिन थालेपछि पनि यसप्रतिको आकर्षण बढेको छ। एमाले विभाजनपछि अध्यक्ष ओलीले मधेसलाई केन्द्रमा राखेर त्यहाँ क्रियाशील विभिन्न दलका नेताहरूसँग आफैंले भेटेर कुराकानी गर्दै आएका छन्।

त्यसकै परिणाम अहिले यसरी मधेसमा एमाले प्रवेशको लहर चलेको नेताहरूको भनाइ छ। एमालेले मधेसमा आफू कमजोर भएका स्थानमा मधेसवादी दलबाटै भित्रिएका नेताहरूलाई टिकट दिएर निर्वाचनमा जाने रणनीति लिएको छ। अहिले एमाले प्रवेश गरेका नेताहरूलाई एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा योग्यताअनुसार उम्मेदवार बनाउने तयारी गरेको छ।

प्रकाशित: १० आश्विन २०७९ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App