८ वैशाख २०८१ शनिबार
समाज

दोहोरो नम्बर प्लेट प्रयोग गर्ने टिपरलाई १० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गर्ने धनुषाका आधादर्जन बढी टिपरलाई प्रहरीले कारबाही गरी जरिवाना असुल गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुर अन्तर्गत जिल्लाको रौतामाई गाउँपालिका ७ संगमचोकस्थित अस्थायी प्रहरी पोष्टको टोलीले चेकजाँचको क्रममा दोहोरो नम्बर प्लेट राखेर चल्दै गरेका टिपरहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।

चौकी प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पुर्ण पाण्डे कमाण्डको टोलीले गत बुधबारदेखि सुरु गरेको सवारी साधन चेकजाँचको क्रममा उदयपुरबाट धनुषातर्फ चुनढुंगा लिएर जाँदै गरेका ८ वटा टिपरलाई एकै खालको ट्राफिक नियम उल्लंघन गरेको पाएपछि नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गाईघाटमा बुझाएको थियो।

ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रत्येक टिपरलाई १० हजार २५ रुपैयाँ जरिवाना गराइएको छ। चेकजाँच गर्दा ट्राफिक नियम मिचेर दोहोरो नम्बर प्लेट प्रयोग गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको समन्वयमा नियन्त्रणमा लिएको थियो।

कारबाहीका लागि यातायात व्यवस्था कार्यालयको जिम्मा लगाइएकोमा यातायातले सवारी ऐनविरुद्ध काम गरेको भन्दै प्रत्येक टिपरलाई १० हजार २५ का दरले जरिवाना गरेर उक्त रकम राजश्व खातामा जम्मा गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायब निरीक्षक (असई) लोकबहादुर दियालीले बताए।

असई दियालीका अनुसार ३ गतेदेखि पक्राउ टिपरहरुलाई दोहोरो नम्बर प्लेट प्रयोग कसुरमा बिहीबार जरिवाना तिराएर छाडिएको छ। जसबाट जम्मा ८० हजार २ सय रुपैँया राजश्व संकलन भएको छ। जरिवाना तिराउनुका साथै सबै टिपरलाई सही नम्बर प्लेट टाँस्न लगाएर छाडिएको छ।

आगामी दिनमा यस्तो कार्य नगर्न चेतावनी दिँदै उनीहरुलाई त्यस्तो गरेको पाइए थप जरिवाना र कारबाही गर्ने चेतावनीसहित छाडिएको यातायात व्यवस्था कार्यालय प्रमुख श्याम लिम्बुले बताए। त्यसैगरी प्रहरीले जिल्लाभित्रका विभिन्न प्राकृतिक स्रोतसाधनको अनाधिकृत दोहन तथा चोरी निकासी आदि कार्यको नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत कारबाही गरेर राजश्व संकलन गरेको जनाएको छ।

जस अनुसार बिहीबार त्रियुगा नदी र बरुवा खोलाबाट अवैध रुपमा लुकीछिपी बालुवा, गिटी र ढुङगा चोरी निकासी गरिरहेको अवस्थामा पक्राउ परेका ७ वटा ट्याक्टरलाई पनि जरिवाना तिराइएको छ। जिल्ला प्रहरीको गस्ती टोलीले भेटेर नियन्त्रणमा लिइएका ट्याक्टरहरु आवश्यक अनुसन्धानपछि कारबाही गर्न त्रियुगा नगरपालिकाको जिम्मा लगाइएकोमा नगरपालिकाले प्रत्येक ट्याक्टरलाई २ हजारका दरले जरिवाना गर्दा १४ हजार राजश्व संकलन भएको छ।

त्यसैगरी अवैध रुपमा राजस्व छली मालसामान ओसारपसार गरेको अभियोगमा त्रियुगा ननगरपालिका १३ असारीरोडमा सञ्चालित बरपिपल कोल्ड ड्रिङ्स र अन्तशुल्कजन्य पदार्थ ढुवानी गर्ने प्रदेश १–०५–००१ स १०२५ नं. को गाडीलाई दोहोरो मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरेको अभियोगमा जरिवाना तिराइएको छ।

गोप्य सुराकीको आधारमा जिल्ला प्रहरीको टोलीले चेकजाँच गर्दा दोहोरो भ्याट बिलमा सामान बिक्री वितरण गरेको पाइएपछि नियन्त्रणमा लिएर कारबाही गर्न करदाता सेवा कार्यालय गाईघाट बुझाइएकोमा मुल्य अभिवृद्धि कर (भ्याट) ऐन २०५२ को दफा ९ हजार १ सय ४० को उपदफा ९४० बमोजिम कसुरमा १० हजार जरिवाना गरेर छाडेको छ।

त्यसैगरी अवैध कर तथा राजश्व छलेको सूचनाको आधारमा प्रहरी चौकी लालपत्तले तत्काल भिसिटिएस अनलाइन बिल साथमा नरहेको ३ कार्टुन कलर्स मोबाइल टेली टल्क प्राइभेट लि. काठमाडौँ नामको बरामद ३ दिनपछि भिसिटिएस अनलाईन बिल ल्याउँदा ७ कार्टुन सामान हुनुपर्नेमा ३ कार्टुन मात्र रहेकाले आवश्यक कारबाही गर्न बरामद मोबाइल आन्तरिक राजश्ज कार्यालय लहान पठाइएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।

प्रकाशित: ८ आश्विन २०७९ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App