१६ चैत्र २०८० शुक्रबार
समाज

सफा विराटनगर बनाउन अभियान

सफा विराटनगर बनाउन सरसफाइ विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णयअनुसार अभियान सञ्चालन गरिएको हो।

महानगरले हरेक शुक्रबार विभिन्न वडाको सफाइ गरिरहेको छ। महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाइ अभियान चलाइएको छ। उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेयर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन्। शुक्रबार प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नम्बर ५ को सफाइ गरियो। चाँदनी चोकबाट सरसफाइ सुरु भएको थियो।

सरसफाइ विशेष अभियानअन्तर्गत त्रिमूर्ति चोक आसपासमा समेत सफाइ गरेर समापन भएको थियो। सफाइ अभियानमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। सफाइमा वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का अध्यक्ष वासुबहादुर बस्नेत, ४ का अध्यक्ष जितन थापा, ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायत कार्यपालिका र नगरपरिषद् सदस्यहरू पनि सरसफाइमा सक्रिय देखिएका थिए। ‘स्थानीयको सहयोगमा नियमित सरसफाइ अभियान सञ्चालन गरिने छ’, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो।’ अभियानअन्तर्गत हरेक हप्ता बेग्लाबेग्लै वडाको सरसफाइ हुने गरेको छ। यस हप्ता उत्तरी क्षेत्रको ५ नम्बर वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए।

त्यसैगरी मध्यक्षेत्रको कार्यवाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा सफाइ गरिएको छ। वडा नम्बर ६ को ब्रह्मापुर आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो। अभियानमा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानलगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागिता थियो।

दक्षिणी क्षेत्रको सरफाइ विशेष अभियानको नेतृत्व मेयर नागेश कोइरालाले गर्दै आएका छन्। गत हप्ता कोइरालाको नेतृत्वमा विराटनगर १३ तालिम केन्द्र मोडदेखि उत्तरको सरसफाई गरिएको थियो। यस हप्ता मेयर कोइराला मलेसिया गएका कारण सो क्षेत्रका वडाध्यक्ष, सदस्य, कर्मचारी र स्थानीयको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

प्रकाशित: ८ आश्विन २०७९ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App