७ वैशाख २०८१ शुक्रबार
समाज

सेनेटरी प्याड लिन छात्रालाई स्मार्ट कार्ड

जिल्लाको शुभकालिका गाउँपालिकामा छात्राहरुलाई सेनेटरी प्याट वितरण सहज बनाउन भेन्टिङ्ग मेशिन जडान गरिएको छ। उपाध्यक्ष छात्रा शैक्षिक सुधार कार्यक्रम अन्तरगत छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड वितरण गर्नका लागि विद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएको हो।

छात्राहरुलाई महिनावारी हुँदा नियमित विद्यालय आउँन सहज बनाउन गाउँपालिकाले दिने निःशुल्क सेनेटरी प्याड वितरण हुँदै आएको छ। उक्त प्याडलाई छात्राहरुले आफ्नो आवश्यकता अनुसार सहज रुपमा लिन विद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताइन्।

शुभकालिका गाउँपालिकाको दहाल आधारभुत विद्यालयमा समाज परिवर्तनका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको उनले बताइन्। भेन्डिङ्ग मेसिनको जडान पश्चात विद्यालयमा महिनावारीको समयमा सहज रुपमा आफैं प्याड लिन मिल्ने र विद्यालय आउन पनि सहज हुने दहाल आधारभुत विद्यालयकी छात्रा यमुना बोहोराले बताइन्।

उनले भनिन्, ‘विगतमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्न सकिँदैन थियो। अब कार्ड हातमा हुन्छ। मेशिनबाट एटिम प्रयोग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ। जसले विद्यालय नियमित आउँन सहज हुन्छ।’

भेन्डिङ्ग मेशिनको उदघाटन गर्दै शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले महिनावारी भएपछि कतिपय छात्रा विद्यालयमा नआउने भएकाले छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको बताइन्।

उनले भनिन्, ‘सानो व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने, आफूलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले यो मेशिन विद्यालयमा निकै उपयोगी छ। गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन प्रयोगमा ल्याउने तयारी छ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अमृता अधिकारीले छात्राको समस्या समाधानका लागि गाउपालिकाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले मेसिन जडानसँगै दीर्घकालीन व्यवस्थापनका लागि पनि सहयोग गर्नुपर्ने माग गरिन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद आचार्यले विद्यालयमा भेन्डिङ्ग मेशिन जडान हुँदा महिनावारी हुँदा छात्राले बीचमै कक्षा छोड्नुपर्ने समस्याको समाधान हुने बताए। सामान्य तया ११ वर्षको उमेरदेखि महिनावारी समय सुरु हुने भएकाले कतिपय छात्रा लाजले विद्यालय नआउने हुँदा अब छात्रालाई नियमित विद्यालय आउँनमा टेवा पुग्ने उनको भनाइ थियो। 

प्रकाशित: ७ आश्विन २०७९ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App