२३ मंसिर २०७९ शुक्रबार
समाज

सफा विराटनगर बनाउन अभियान

सफा विराटनगर बनाउन सरसफाई विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेर अभियान सञ्चालन गरिएको हो।

महानगरले हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाई गरिरहेको छ। महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई अभियान चलाइएको छ। उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेयर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन्।

शुक्रबार प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नम्बर ५ को सफाई गरियो। चाँदनी चोकबाट सरसफाई सुरु भएको थियो। सरसफाई विशेष अभियान अन्तर्गत त्रिमूर्ति चोक आसपासको समेत सफाई गरेर समापन भएको थियो। सफाई अभियानमा स्थानीयकोसमेत उल्लेख्य सहभागीता रहेको थियो।

सफाईमा वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का अध्यक्ष वासुबहादुर बस्नेत, ४ का अध्यक्ष जितन थापा, ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायत कार्यपालिका र नगरपरिषद् सदस्यहरू पनि सरसफाईमा सक्रिय देखिएका थिए।

‘स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान सञ्चालन गरिने छ’  प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ‘यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो।’ अभियानअन्तर्गत हरेक हप्ता बेग्ला–बेग्लै वडाको सरसफाई हुने गरेको छ। यस हप्ता उत्तरी क्षेत्रको ५ नम्बर वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए।

त्यसैगरी मध्य क्षेत्रको कार्यबाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा सफाई गरिएको छ । वडा नम्बर ६ को ब्रम्हापुर आसपासको क्षेत्रमा सरसफाई गरिएको हो। अभियानमा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानलगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो।

दक्षिणी क्षेत्रको सरफाई विशेष अभियानको नेतृत्व मेयर नागेश कोइरालाले गर्दै आएका छन्। गत हप्ता कोइरालाको नेतृत्वमा विराटनगर १३ तालिमकेन्द्र मोडदेखि उत्तरको सरसफाई गरिएको थियो। यस हप्ता भने मेयर कोइराला मलेसिया गएका कारण सो क्षेत्रका वडाध्यक्ष, सदस्य, कर्मचारी र स्थानीयको सहभागीतामा सरसफाई अभियान सञ्चालन गरिएको छ।

प्रकाशित: ७ आश्विन २०७९ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App