coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरबाटै हराए बाँकेमा दुई बालिका

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी निशा परियार र बन्दना वि.क।

बाँकेको कुसुममा दुई बालिका घरबाटै हराएका छन्। दाङसँग सिमा जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षका बन्दना बिक र  निशा परियार तीन दिनदेखी घरबाट हराएका हुन्।

परिवारका अनुसार मंगलबार बेलुका करिब ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए। बालिका हराएको दुई दिनपछि बिहीबार मात्र इलाका प्रहरी कार्यालय कुसुममा परिवारले निवेदन दिएको स्थानीय प्रहरीले जनाएको छ।

इप्रका कुसुमका निमित्त इञ्चार्ज एवम् प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीले परिवारको निवेदन प्राप्त भएपछि खोजी गर्ने काम सुरु भएको बताए। ‘बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने।

बन्दना र निशा दुबैका आमा दोस्रो विवाह गरेर अन्यत्रै गएका छन्। बुवाले दोस्रो विवाह गरेपछि उनीहरु हजुरबुवा र हजुरआमासँग बस्दै आएका थिए। दुबैका बुवा रोजगारीका लागि घर बाहिर रहेको बुझिएको छ। आफन्तका अनुसार निशाको आमा दोस्रो विवाह गरेर अन्यत्रै गएपछि माउली हजुर बुवासँग बस्ने गरेकी थिइन्।

यस्तै बन्दनाकी आमा पनि दोस्रो विवाह गरेर अन्यत्र गएपछि घरमा कान्छी आमा र हजुरआमासँग बस्दै आएकी थिइन्। ‘दुबैको घर नजिक छ, निशा र बन्दनाको अवस्था मिल्दो जुल्दो थियो, दुबै जना एकदमै मिल्ने गथ्र्ये,’ आफन्त बिक्रम नेपालीले नागरिकसँग भने।

अहिलेसम्म आफन्त कहाँ चारैतिर सम्पर्क गर्दा पनि कतै पत्ता नलागेको उनले सुनाए। ‘आफन्त कहाँ जताततै फोन सम्पर्क गर्दा पनि पत्ता लागेको छैन, उनीहरु कहाँ गए? अथवा कस्ले लिएर गयो भन्ने केही खुलेको छैन,’ नेपालीले भने। बिक्रमका अनुसार त्यसदिन निशाले खाना पकाएको भनि बन्दनालाई आफ्नो घरमा लिएर गएकी थिइन्।

खाना खाएर सुत्न भनि कोठामा पसेका उनीहरु त्यहाँबाट कहाँ गए? परिवारले पत्तो नै पाएनन्। आफन्तका अनुसार निशाले स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयको कक्षा ४ र बन्दनाले सोही विद्यालयको कक्षा ३ मा पढ्छन्। ‘कोठामा किताबहरु त्यसै छाडेका छन्, लगाउने कपडाहरु सबै कोठामै छन्, बडो अचम्मको घटना भएको छ,’ बिक्रमले भने ‘हामी आफन्तहरु साह्रै चिन्तामा छौं।’

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले दुई जना बालिका घरबाटै हराएको जानकारी आफूले पाएपछि खोजी कार्यमा सक्रियता देखाउन प्रहरीलाई आग्रह गरिएको बताए। ‘घरबाटै बालिकाहरु हराएको घटना सार्वजनिक भएको छ, यसमा प्रहरीले सक्रियता पूर्वक खोजी कार्य र अनुसन्धानलाई अगाडि बढाउनुपर्छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले बालिका हराएको विषयमा अनुसन्धान सुरु गरिने बताए। ‘घटनाको वास्तविकता बुझेर उनीहरुको अवस्था पत्ता लगाउँछौं,’ मल्लले भने।

प्रकाशित: ७ आश्विन २०७९ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App