४ वैशाख २०८१ मंगलबार
समाज

पाथीभरा म्याराथन तथा चाडपर्वमा कुनै किसिमको अवरोध नगर्न ताप्लेजुङ जिल्ला सुरक्षा समितिको आग्रह

जिल्ला सुरक्षा समिति ताप्लेजुङले आउँदो असोज ११ गतेदेखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवसहित आसन्न चाडपर्वहरुका समयमा कुनै किसिमको अवरोध तथा व्यवधान नगर्न आग्रह गरेको छ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज ११ गतेबाट हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरुमा भयरहित वातावरणमा भाग लिन आह्वान गरेका छन्।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव र चाडपर्वहरु हर्षोल्लासका साथ सम्पन्न गराउन जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारी भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको भन्दै प्रशासन कार्यालयले भयरहित रुपले महोत्सव तथा चाडपर्वहरुमा सहभागीता जनाउन आग्रह गरेको हो।

जिल्ला सुरक्षा समितिले महोत्सव तथा चाडपर्वहरुमा कुनै पनि किसिमको अवरोध भए स्थानीय प्रशासन ऐन २०२८ एवम् संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिम कानुनी कारबाही हुने चेतावनी दिएको छ।

समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना भएको स्मरण गराउँदै जिल्ला सुरक्षा समितिले महोत्सवलाई अवरोध पुग्नेगरी केही व्यक्तिहरुको समूहले असहयोगका कार्यक्रम घोषणा गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परापूर्वकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्यसहित विगतदेखि हुँदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागीता जनाउन आग्रह गरेको छ।

चाडबाडका बेला मानिसहरु आ–आफ्नो घरमा आउनेजाने गर्ने तथा यही बेला पाथीभरा दर्शन गर्न आउने तीर्थालु समेत अत्यधिक हुने कुरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजवुत बनाइएको जिल्ला सुरक्षा समितिले बताएको छ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म तीन वटै निकायको संयुक्त आयोजनामा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुन लागेको हो। २०६५ सालदेखि महोत्सव तथा म्याराथन हुँदै आएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App