coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमा व्यवसायीको धर्ना

नेपाल राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, व्यवसायी।

चर्को ब्याजदरविरुद्ध नेपालगन्जका व्यवसायीले नेपाल राष्ट्र बैंक नेपालगन्जमा धर्ना दिएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रबार बिहान १० बजे यहाँका उद्योगी, व्यवसायीले एक घण्टा धर्ना दिएका हुन्।

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मर्कामा परेको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिएका छन्। बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागु हुने गरी ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर आकाशिने भन्दै संघले बिहीबार आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

नेपाल राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, व्यवसायीले चर्को ब्याजदरका कारण व्यवसायलाई चलाउनै कठिन भइरहेको दुखेसो पोखे। संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ऋण लिएका व्यवसायीको अवस्था दयनीय बनेको बताए। ‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ,’ उनले भने।

संघका महासचिव चिरञ्जिवी ओलीले चर्को ब्याज तिर्नुपर्दा उद्योग, व्यवसाय माथी उठ्न नसक्ने बताए। बैंकको चर्को ब्याजका कारण बजारमा महंगी बढेको उनको तर्क छ। कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला व्यवसायीहरु अप्ठ्यारोमा परेको महासचिव ओलीले बताए।

धर्नामा सहभागी हुन आएका नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले नेपाललाई कंगाल हुने स्थिति राष्ट्र बैक र सरकारले गरिरहेको आरोप लगाए। ‘व्यापारीहरु देशभर आन्दोलित भएका छन्, व्यापारीको आन्दोलनलाई राप्रपाले पूर्ण रुपले सहयोग गर्ने निर्णय गरको छौं,’ उनले भने। 

संघका महासचिव ओलीका अनुसार संघले धर्नासँगै नेपालगन्जस्थित राष्ट्र बैंकका निर्देशकलाई ज्ञापन पत्र पनि बुझाएको छ। संघको आन्दोलन कार्यक्रम अन्तरगत शनिबार पनि नेपाल–भारत जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवाव मुलक कार्यक्रम गर्ने तयारी छ।

प्रकाशित: ७ आश्विन २०७९ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App