८ वैशाख २०८१ शनिबार
समाज

रारातालको गहिराइ नाप्न सुरु

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।

रारातालको नयाँ तथ्यांक बाहिर ल्याउन र क्षेत्रफलसँगै तालको पानीको शुद्धताको परीक्षण गर्न लागिएको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। जल तथा मौसम विज्ञान विभागको सहयोगमा, कार्ड/इटु सर्भिस/जेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको थियो।

सर्वेक्षणका लागि विभागबाट २ जना र कम्पनीबाट ८ गरी १० जनाको टोली खटिएको छ। तालको भूभाग र क्षेत्रफल मापनका लागि टोपोग्राफिक र गहिराइ नाप्ने यन्त्र प्रयोग भइरहेको जेभीका इन्जिनियर राम श्रेष्ठले बताए। उनका अनुसार रारामा प्रयोग गरिएको यो प्रविधि कर्णालीमै नयाँ हो। उनले ढिलोमा १ महिनाभित्र सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन जल तथा मौसम विज्ञान विभागलाई बुझाउने बताए। २०५४ मा गरिएको सर्वेक्षणअनुसार रारातालको गहिराइ १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ। राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्र सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिकासहित सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकको भूभाग पर्छ।

भदौ लागेसँगै रारा आउने पर्यटक बढिरहेका छन्। अहिले दैनिक ५० जनासम्म पर्यटक राराताल घुम्न आइरहेका छन्। महामारीका कारण झन्डै ३ वर्षसम्म थला परेको पर्यटन व्यवसाय बिस्तारै तंग्रिन थालेको छ। रारामा पर्यटक बढ्न थालेपछि होटल व्यवसायी, घोडा व्यवसायी, ढुंगा चालक र भरियाहरू व्यस्त बन्न थालेका छन्।

प्रकाशित: ७ आश्विन २०७९ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App