८ वैशाख २०८१ शनिबार
समाज

ललितपुरमा सम्बन्ध बिच्छेदका घटना बढे

फाइल

पछिल्लोसमय ललितपुर जिल्लामा सम्बन्ध बिच्छेद गर्ने क्रम बढ्दै गएको पाइएको छ। ललितपुर जिल्ला अदालतका अनुसार सम्बन्ध बिच्छेदका उजुरी दिनेमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको छ।  

‘गत आर्थिक वर्षमा सम्बन्ध बिच्छेदका लागि उजुरी दिनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ,’ जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले भने। वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरूले परपुरुषसँग सम्बन्ध बनाएपछि पीडित पुरुषहरू सम्बन्ध बिच्छेदका लागि आउने गरेको र त्यस्ता मुद्दाको फाइल थुप्रिँदै गएको पाण्डेले बताए। श्रीमान्ले वैदेशिक रोजगारबाट कमाइएको सम्पत्तिसहित श्रीमती अर्कै पुरुषसँग भागेका घटनामा पनि पिडित पुरुषले प्रमाणसहित मुद्दा दायर गर्ने गरेको उनी बताउँछन्।  

सम्बन्ध बिच्छेका लागि आउनेमध्ये धेरैजसो घटना वैदेशिक रोजगारीसँग जोडिएको पाइएको छ। श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भेटघाट र शारीरिक सम्बन्धको दूरीले उत्पन्न गराउने असमझदारीका कारण सम्बध बिच्छेद गर्न आउनेको संख्या ठूलो रहेको अदालतका स्रेस्तेदार पाण्डे बताउँछन्। त्यस्तै महिलाहरूका चाहाना र इच्छा परिपूर्ति गर्न नसक्दा, विवाहपछि पनि पुरुषहरूले अन्यत्रै सम्बन्ध बनाउने जस्ता कारणले पनि सम्बन्ध बिच्छेद हुने गरेका छन्। महिलाहरूमाथि पुरुषहरूबाट दिइने यातना तथा घरेलु हिंसामा परेका महिलाहरू पनि सम्बन्ध विच्छेदका लागि आइरहेको उनी बताउँछन्। सक्षम र आत्मनिर्भर महिलाहरू पुरुषको थिचोमिचोमा बस्न नचाहेर, बच्चा भइसकेपछि पनि विवाहदर्ता नगरिदिने, नागरिकता, नाताप्रमाणित जस्ता प्रमाणपत्र नबनाइदिने कारण पनि महिलाहरू सम्बन्ध विच्छेदका लागि आउने गरेको उनले जानकारी दिए।  

स्रेस्तेदार पाण्डे पछिल्लो समय महिलाहरू पीडक र पुरुषहरू पीडित भएका थुप्रै घटनाहरूमा पुरुषहरू सम्बन्ध बिच्छेदनका लागि आउने गरेको बताउँछन्। सम्बन्ध बिच्छेदका लागि महिलाहरूको हकमा मौखिक उजुरी पर्याप्त हुने तर पुरुषहरूले भने वडा वा गाविसको स्थलगत मुचुल्का र आधिकारिक प्रमाणसहित उजुरी पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको पाण्डे बताउँछन्।

जिल्ला अदालत ललितपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असारसम्म सम्बन्ध बिच्छेदका ७ सय ६१ मुद्दा दर्ता भएका छन्। यो तथ्यांक अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्म ४ सय ५४ सम्बन्ध बिच्छेदका उजुरी दर्ता भएका थिए। चालु आर्थिक वर्षको साउनदेखि भदौ १५ गते सम्म ९४ वटा यस्ता उजुरी अजालतमा दर्ता भएका छन्। अदालतमा २०७७ साउन १ देखि २०७९ असार ३० सम्ममा ९ सय ७३ मुद्दाको फैसला भएको छ भने दुई सय ३१ मुद्दा चालु अवस्थामा रहेका छन्। आर्थिक वर्ष २०७७/७८ को साउनमा जिल्ला अदालतबाट ५१ जनाले सम्बन्ध विच्छेदनका निवेदन हालेका छन् भने भदौमा १३, असोजमा ५१, कात्तिकमा २८, मंसिरमा ६०, पुसमा ५५, माघमा ४४, फागुनमा ५०, चैतमा ५०, वैशाखमा २२, जेठमा शून्य र असारमा ३० गरी जम्मा ४ सय ५४ सम्बन्ध बिच्छेदका फाइल दर्ता भएको पाण्डेले बताए।  

प्रकाशित: ७ आश्विन २०७९ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App