coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संविधान दिवसमा उदयपुर कारागारका १० कैदी रिहा

यसवर्षको ‘संविधान दिवस’मा उदयपुर कारागारमा सजाय भोग्दै आएका १० कैदी जेलमुक्त भएका छन्। हरेक राष्ट्रिय चाडपर्वको अवसरमा राष्ट्रपतिले सजाय मिनाहा गर्ने प्रचलन अनुसार संविधान दिवसको अवसरमा २ महिलासहित १० कैदीको सजाय मिनाहा भएको हो।  

कैद सजाय मिनाहा पाउनेहरुमा ३ जना सवारी ज्यान अभियोगका कैदी, २ जना चोरी, २ जना बहुबिवाह, १ जना कर्तव्य ज्यान, १ जना ज्यान मार्ने अभियोग र १ जना चोरी तथा अभद्र व्यवहारका अभियुक्त रहेका छन्। संविधान दिवसको अघिल्लो दिन असोज २ गते प्राप्त गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको चलानी नं. १ सय ८१ को पत्रानुसार उनीहरुलाई कैदमुक्त गरिएको राष्ट्रपतिको जिल्ला कारागार शाखा प्रमुख डिगम कार्कीले बताए।  

कार्कीका अनुसार कैदमुक्त हुनेमा कर्तव्य ज्यान अभियोगकी कैदी उदयपुृरगढी गाउँपालिका ७ की शर्मिला कार्की, सवारी ज्यान मुद्धाका क्रमशः कटारी नगरपालिका १२ का रुद्रबहादुर कार्की, बाराहा पोखरी गाउँपालिका ७ खोटाङका दिवस राई र लिमचुङबुङ गाउँपालिका ३ उदयपुरका रामकुमार भन्ने होमबहादुर खत्री रहेका छन्। त्यस्तै चोरी अभियोगमा जेल सजाय भोग्दै आएका बेलका नगरपालिका ३ का अशोक चौधरी र चौदण्डीगढी नगरपालिका १० का श्रबण दनुवार रहेका छन्।  

सजाय मिनाहा पाएर कैदमुक्त हुने अन्य अभियुक्तहरुमा बहुबिबाहका अभियुक्त कटारी नगरपालिका ६ का ओमबहादुर थापामगर र बेलका नगरपालिका ७ का कलराज राई छन्। त्यस्तै ज्यान मार्ने उद्योगको आरोपमा कैदरत त्रियुगा नगरपालिका १५ की भरिमाया भन्ने कुमारी बस्नेत रहेको जेलर कार्कीले बताए।  

संविधान दिवस, राष्ट्रय प्रजातन्त्र दिवस, दसैंतिहार तथा गणतन्त्र दिवसजस्ता राष्ट्रिय चाडको अवसरमा हरेक वर्ष स्थानीय प्रशासनको सिफारिसमा राम्रो आचरण भएका ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी सजाय राष्ट्रपतिले मिनाहा गरिदिने परम्परा अनुसार उनीहरु कैदमुक्त भएका हुन्। गृह मन्त्रालय र कारागार विभागको पत्रानुसार सजाय मिनाहा पाएका कैदीहरुलाई संविधान दिवसको दिन विहान १० बजे नै बिदाई गरेर घर पठाइएको जेलर कार्कीले बताए। 

प्रकाशित: ६ आश्विन २०७९ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App