८ वैशाख २०८१ शनिबार
समाज

नजिकियो दशैं, सुध्रिएनन् सडक

कोहलपुरस्थित चप्परगौडी हुँदै मसुरीखेत पुग्ने हिलाम्मे सडक। तस्विरः नागरिक

कोहलपुरस्थित चप्परगौडी हुँदै मसुरीखेत पुग्ने सडक हिलाम्मे छ। खाल्डाखुल्डीले यात्रालाई जोखिम र असहज बनाएको छ। वर्षामा पानी जमेर सडकको अवस्था जीर्ण बनेको छ। यस्तै वडा नम्बर १० हुँदै वडा नम्बर ६ रझेना जोड्ने बाटोको अवस्था पनि दर्दनाक छ। दुई महिनामै कालोपत्रे उप्किएपछि सडक खाल्डाखुल्डीमा परिणत भएको छ। यतिमात्र होइन जिल्लाका अधिकांश ग्रामीण सडक मर्मत हुन सकेका छैनन्।  भित्री सडकहरु मर्मत नहुँदा दसैँतिहारमा घर आवतजापत गर्ने तथा अन्य स्थानीयलाई सकस भएको छ।  

नेपालीका महान् पर्व नजिकिँदै गर्दा गाउँघरमा सडकहरु मर्मत गर्नुपर्ने हो तर, यहाँका पालिका तथा वडाले कुनै चासो देखाएका छन्। ‘दसैँ नजिकिँदै गर्दा आफन्तजनहरु गाउँघरमा फर्किन थाल्नु भएको छ,’ वडा नम्बर १२ की स्थानीय शान्ति सुनारले भनिन्, ‘हामी पनि किनमेलका लागि बजार निस्किनु पर्छ।  बाटो मर्मत भएका छैनन्।’ चाडपर्वहरु नजिकिँदै गर्दा बाटाहरु मर्मत हुनुपर्ने उनी बताउँछिन्।  शान्तिका अनुसार सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम रहेको छ। उनले भनिन्, ‘यहाँको सडक जीर्ण भएको धेरै भइसक्यो।   स्थानीय सरकारले ध्यान दिन सकेको छैन। छिटोभन्दा छिटो सडक मर्मत तथा स्तरोन्नति गर्न आग्रह गर्न चाहन्छुँ।’ उक्त सडकका विभिन्न ठाउँमा ठूल्ठूला खाल्डाका कारण हिँड्नसमेत असहज हुने स्थिति रहेको छ। त्यसमाथि वर्षा हुँदा खाल्डामा पानी जमेर पैदल यात्रीहरुलाई सास्ती व्यहोर्ने अवस्था रहेको सागर भण्डारीले बताए।  

‘दसैँतिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदैछन्।  आफन्तहरु आउँछन्। बाहिरका मान्छेहरु आउँछन्,’ अर्का स्थानीय कृष्ण बटलाले भने, ‘सवारी राम्रोसँग चल्ने अवस्था छैन। यसमा वडा सरकारले ध्यान दिनुपर्छ।’ उनले भने, ‘घाम लाग्यो धुलाम्मे हुन्छ, पानी प¥यो हिलाम्मे। पानी परेपछि मोटरसाइकल र साना सवारीसाधनका यात्रुलाई यात्रा गर्न ठूलै संघर्ष गर्नुपर्छ।’ गोरेटो, कच्ची सडक, ग्राबेल हुँदै पिच तथा ढलान गरेर सडक निर्माण गरिएका छन्। नागरिकले सेवा त पाएका छन्। तर, बिग्रेका सडक बेलैमा मर्मत नगर्दा चालक र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।  

वडा नम्बर ३ को कार्यालय पुग्ने बाटो पनि राम्रो नभएको भीमप्रसाद न्यौपानेको भनाइ छ। यता स्थानीय सरकारका जनप्रतिनिधिहरु भने जीर्ण अवस्थामा रहेका सडक आफ्नो प्राथमिकतामा रहेको बताउँछन्। वडा नम्बर १० की वडाध्यक्ष गौराकुमारी अधिकारी चालू आर्थिक वर्षमा वडाले ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिएको बताउँछिन्। वर्षायामको समस्या भएका गुनासा आइरहेको भन्दै आफू जनताको समाधान गर्न तत्पर अवस्थामा रहेको उनले बताइन्।  

वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह आफूले कार्यकाल सम्हालेदेखि जनताका आधारभूत समस्या समाधान गरिरहेको बताए। उनले आफ्नो सय दिन कार्यकालमा ग्रामीण सडकलाई प्राथमिकता दिएर काम गरेको बताए। उनले एक सय ७० मिटर बाटो पीच गरिएको बताए।

प्रकाशित: ५ आश्विन २०७९ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App