coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाँकेमा महिलाको शंकास्पद मृत्यु

२३ वर्षीया गोल्डी बर्माले आत्महत्या प्रयास गरेको स्थान । तस्विरः नागरिक

जानकी गाउँपालिकामा एक २३ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ। ति महिलाको मृत्युपछि उनका श्रीमान् निराजन बर्मा फरार भएका छन्।

परिवारले ती महिलाले आत्महत्या गरेको दाबी गरिरहेको छ। माइती पक्षले भने आत्महत्या नभइ हत्या गरेको दाबी गरिरहेको छ। मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवा माइती घर भएकी २३ वर्षीया गोल्डी बर्मा हुन्।

घटना असोज १ गतेको हो। साँझ करिब ९ बजेतिर गोल्डीको आइडीबाट आमा लक्ष्मी बर्माको आइडीमा भिडियो कल आयो। भिडियोकलमा गोल्डी नभइ उनका ५ वर्षीय छोरा देखिए। तर, रुँदै गरेको अवस्थामा। ‘आत्तिएर उसले आमा मरिहाली। बुवाले मारिदियो भन्दै थियो,’ गोल्डीकी आमाले त्यस दिनको घटना सुनाउँदै भनिन्। खाना खाइरहेकी गोल्डीकी आमा लक्ष्मी आत्तिइन्। खाइरहेको थाल त्यसै छोडेर उनी श्रीमान्लाई लिएर गुरुवा गाउँ जान हिँडिन्। तर, बाटोमै मोटरसाइकलमा तेल सकियो। रातिको समयमा पेट्रोल पम्प बन्द थिए । संयोगवश एकजना चिनेको मान्छे भेटिए र उनले आफ्नो मोटरसाइकल दिएपछि उनीहरु गुरुवागाउँ पुगे। छोरीको घरमा पुग्दा छोरी ओछ्यानमा मृत अवस्थामा पल्टिएकी थिइन्। मानिसहरु भेला भइसकेका थिए। मृतकका ससुराले गोल्डीले आत्महत्या प्रयास गरेको र आफूले बचाउन खोज्दा खोज्दै मृत्यु भएको बताइरहेका थिए।  

गोल्डीका पिता पेशकार बर्माका अनुसार ज्वाई निराजन बर्मा मादक पदार्थ र लागुऔषध दुव्र्यसनी थिए। उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए। उनलै छोरीको हत्या गरेर फरार भएको पेशकारको आशंका छ। पेशकारका अनुसार ज्वाई घटना भएको दिन आफूहरु पुग्दासम्म घटनास्थलमै थिए। आफूहरु पुगिसकेपछि उनी त्यहाँबाट फरार भए। यो समाचार तयार पार्दासम्म फरार उनी सम्पर्कमा आएका छैनन्।

माइती पक्षले ज्वाईले नै छोरीको हत्या गरेको दाबी गरिरहेको छ। नभए उनी फरार हुनुपर्ने कुनै कारण नभएको पेशकार बताउँछन्। प्रहरीमा ज्वाईमाथि छोरीको हत्या अभियोगमा मुद्दा दायर गर्न लागेको उनले बताए। यता प्रहरीले आफ्नोतर्फबाट घटनास्थलको मुचुल्का लिएर अनुसन्धानको प्रक्रियामा राखेको बताउँछन्। तर, माइती पक्षका अनुसार घटनास्थलको मुचुल्का तत्काल गर्नुपर्नेमा लाशलाई अस्पताल पुर्‍याइसकेपछि मात्रै गरियो। प्रहरीले घटनालाई सुरुदेखि नै कमजोर बनाउँदै लगेको माइती पक्षको आशंका छ।  

आरोपित निराजनको खराब आचारण  

मृतक गोल्डीका श्रीमान् निराजनका तीन भाइ छन्। २८ वर्षीय निराजन कान्छो हुन्। जेठो र माइलो छोरा बुवासँगै एकै घरमा बस्छन् भने निराजनको अलग्गै घर छ। जेठो र माइलो बस्ने घरको माथिल्लो तला निर्माणाधीन छ। निराजनको परिवारका सदस्यसँग राम्रो सम्बन्ध छैन। उनी मदिरा र लागुऔषधमा फसेको, भएको सम्पत्ति बेचेर सकेको, सम्झाउँदा झगडा गर्ने गरेको उनकै पिता गिरवल बर्मा बताउँछन्। बुहारीलाई पनि विभिन्न बाहनामा कुटपिट गर्ने गरेको उनको भनाइ छ।

भाइहरु छुट्टिँदा उनले पाएको करिब १८ कठ्टा जमिन बेचेर सिध्याइसकेका उनले घर भएको जमिन र घर पनि बैंकमा राखेको गिरवल बताउँछन्। गाउँघरमा पनि निराजनले धेरै मानिसलाई फसाउँदै आएको उनकी आमा नै बताउँछिन्। १६ वर्षकै उमेरमा निराजनसँग विवाह गर्न बाध्य बनाइएकी गोल्डी अन्ततः श्रीमान्को यातनाकै कारण अल्पायुमै मृत्युवरण गर्न पुगेकी छन्।  

त्यो शंकास्पद घटना...

गोल्डीका ससुरा गिरवल बर्माका अनुसार उनी असार १ गते साँझ माथिल्लो निर्माणाधीन तलमा गएका थिए। एक्कासी निराजनको घरबाट उनका छोरा रुँदै कराएको आवाज आयो। गिरवलका अनुसार नातीले ‘आमा मरिहाली’ भन्दै कराइरहेको सुनेपछि उनी आत्तिएर एक्लै निराजनको घरतिर गए। सधैंझै निराजनले श्रीमतिलाई पिट्दै होलान् भन्ने अनुमान उनले गरे। तर, मुल गेटमा भित्रपट्टिबाट चुकुल लगाइएको थियो। गिरवलले नातीलाई चुकुल खोल्न लगाए र भित्र पसे। भित्र पसिसकेपछि उनका अनुसार बुहारी ढोकामाथिको सरियामा झुन्डिएको अवस्थामा छट्पटाइरहेकी थिइन्। उनले हत्तपत्त बुहारीलाई सारीको पासोबाट निकाले र ओछ्यानमा राखे। त्यतिञ्जेल गोल्डीको सास चलिरहेको थियो।

त्यसपछि नजिकै औषधि पसल सञ्चालन गरिरहेका अहेबलाई बोलाउँदासम्म करिब २० मिनेट भइसकेको थियो। त्यतिञ्जेलसम्म गोल्डीको सास चलिरहेकै थियो। करिब १५ मिनेटपछि एम्बुलेन्स बोलाइयो। तर, अहेबले गोल्डीको मृत्यु भइसकेको बताएपछि एम्बुलेन्सलाई बाटैबाट फिर्ता पठाइयो। करिब २० मिनेटसम्म सास चलिरहेको मान्छेलाई अस्पताल पुर्‍याउन नसक्दा गोल्डीले ज्यान गुमाएको देखिन्छ। चेकजाँच गर्न बोलाइएका अहेब गोल्डीले आत्महत्या प्रयास गरेको आफूलाई सुरुमा जानकारी नदिइएको बताउँछन्।

प्रकाशित: ५ आश्विन २०७९ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App