७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसी काठमाडौँ जान मानेनन्,नेपाली सेनाको स्काई ट्रक फिर्ता

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार सहित ७ बुँदे माग राखेर धनगढीमा २० औं आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछी काठमाडौँ लैजान मंगलबार स्काई  ट्रक धनगढी आएको थियो। 

मांसपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकोले डा. केसीलाई सुविधासम्पन्न अस्पताल स्थान्तरण गर्न चिकित्स्कको टोलीले आग्रह गरेको थियो। सेती प्रादेशिक अस्पतालले काठमाडौँ शिक्षण अस्पताल महाराजगन्ज स्थान्तरण गर्न पत्र समेत तयार पारिसकेको थियो। तर डा. केसीले नजाने अडान गरेपछि जिल्ला प्रशासनको डा. केसीलाई काठमाडौँ पठाउने प्रयास असफल भएको छ। डा. केसीको स्वास्थ्य अवस्था जटिल भएकोले काठमाडौँ पठाउन नेपाली सेनाको स्काई ट्रक मगाएको र डा. केसीले जान ईन्कार गरिरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

डा. केसीको स्वास्थ्य अवस्थामा दिनानुदिन बिग्रदैँ गएको चिकित्सक अमृत जैसीले बताए। धनगढी कृष्ण मन्दिरको धर्मशालामा  भदौ २७ गते सत्याग्रहमा बसेका उनको तीन दिनमै स्वास्थ्यमा समस्या देखिएपछी  गत बुधबार साँझ एम्बुलेन्स बाट सेती प्रादेशिक अस्पतालमा लगेर भर्ना गरिएको थियो।

श्वास फेर्न गाह्रो हुने,अक्सिजनको मात्रा कम, रक्तचाप कम, सुगर धेरै कम, मांसपेशी सुक्दै गएको र पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख छ।

जिउ दुख्ने पेट दुख्ने,मांसपेशी दुख्ने, टाउको दुख्ने,  रिङ्ग्टा लाग्ने,  मासपेशी बाउडिने र सुक्दै गएको,  रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको, श्वासप्रश्वास दर बढ्दै गएको, क्याल्सियम फस्फरोस म्याग्नेसियम कम, पिसाबमा किटोन बढि बढ्दै गएको मेडिकल बुलेटीनमा उल्लेख छ। यसैगरी तौल घट्दै गएको, पोषण तत्व र पानीको मात्रा घट्दै गएको चिकित्सकले बताए।

पानी र पोषण तत्वको असन्तुलनले बेहोस हुन सक्ने, शरीर कम्पन्न हुन सक्ने , शरीरका अङ्ग तथा प्रणाली बिग्रन सक्ने तथा ज्यानलाई खतरा  हुनसक्ने चिकित्सकले बताएका छन्।अवस्था जटिल बन्दै गएपनि औषधि प्रयोग गर्न ईन्कार गरेको छन्। पानी, नर्मल स्लाईन र रिङ्गर ल्याक्टेट मात्र प्रयोग गरिएको छ। बेहोस भए पनि मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेट बाहेक कुनै औषधि तथा प्रयोग नगर्नु भनेर उनले लेखेर दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा , स्वास्थ्य क्षेत्रको सुधारका जनताका माग लिएर अनसन बसेको र सरकारले माग पूरा नगरेसम्म अनसन जारिराख्ने बताएका छन्। डा. केसीको स्वास्थ्य अवस्था गभिर भएपछी उनको जीवन रक्षा गर्न सर्वसधारणले माग गरेका छन्।

प्रकाशित: ४ आश्विन २०७९ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App