टीकापुर क्षेत्रमा दाहसंस्कारका लागि काठदाउराको अभाव हुन थालेको छ। कर्णाली नदी किनारको वन क्षेत्रमा सुकेका रुख सकिएपछि दाहसंस्कारका लागि काठदाउराको चरम अभाव हुन थालेको हो।
टीकापुर नगरपालिकाका दौलतपुरघाट र सनकट्टीघाटमा मृतकका आफन्तले दाहसंस्कार गर्छन्। त्यहाँ दिनहुँ ४/५ जनाको दाहसंस्कार हुन्छ। बढ्दो जनसंख्यासँगै दाहसंस्कार गर्नेको संख्या पनि वर्षेनी बढ्दै गइरहेको छ।
टीकापुर नगरपालिका–१ वनगाउँका विजय न्यौपानेकी आमाको दाहसंस्कारका लागि काठदाउराको जोहो गर्न निकै कठिनाई भयो। आफन्तले धेरै प्रयास गरेपनि नजिकको वन क्षेत्रमा काठ पाउन सकेनन्। उनीहरुले अन्ततः झण्डै १० किलोमिटर टाढाको रानी कर्णाली सामुदायिक वनबाट काठ लिएर आए।
‘त्यो पनि सहज भेटिएन। निकै हात जोडेर पाईयो’ आफन्त पृथ्वी ढुंगानाले भने–‘दाहसंस्कारका लागि काठदाउराको समस्या निकै जटिल बनेको छ।’
दौलतपुरघाट नजिक दुईवटा संरक्षित वन छन्। टीकापुर नगरपालिकाको मातहतमा रहेका ती दुई संरक्षित वनलाई स्थानीयले संरक्षण गर्दै आएका छन्। भैरवनाथ र भगरैया संरक्षण समितिको हाताभित्र सुकेका रुख लगभग सकिएका छन्। भगरैया संरक्षण समितिका अध्यक्ष अनन्त खड्काले सुकेका रुख सकिएपछि दाहसंस्कारमा समस्या भएको बताए।
‘हरियो रुख काट्न दिनु भएन। सुकेका रुख सकिएका छन्’ उनले भने–‘दाहसंस्कार जस्तो संवेदनशील कुरामा काठदाउरा माग गर्छन्। हामीलाई निकै समस्या भइरहेको छ।’
ती दुई संरक्षित वनमा आठ सय उपभोक्ता छन्। काठदाउरा अभावलाई मध्यनजर गरेर समितिले उपभोक्तालाई मात्रै काठदाउरा दिने निर्णय गरेको छ। अध्यक्ष खड्का भन्छन–‘तर शव नै बोकेर मानिस घाटसम्म पुगेपछि गैरउपभोक्ता भनेर नदिनु पनि त भएन।’
दौलतपुरघाट भन्दा सनकट्टीघाटमा दाहसंस्कार गर्नेको संख्या अझ धेरै हुन्छ। त्यहाँका सामुदायिक वनमा समेत काठदाउराको चरम अभाव छ। उनीहरुले समेत उपभोक्तालाई मात्रै दिने निर्णय गरेका छन्। तर गैरउपभोक्तालाई समेत काठदाउरा दिनुपर्ने वाध्यता रहेको शितल सामुदायिक वनका अध्यक्ष सिद्ध ठकुल्लाले बताए।
‘मानवीयता हेरेर पनि नदिन त भएन’ उनले भने–‘आजसम्म जेनतेन धानेका छौं। कतिदिनसम्म धान्न सकिन्छ थाहा छैन।’
कर्णाली किनारमा बुट्यान मात्र छ। त्यो बुट्यान क्षेत्र पनि वर्षेनी बाढीले कटान गर्छ। धेरैजसो रुख बाढीले बगाएर लैजान्छ। नदीको बाढीमा बग्दै गरेका रुख छोप्न समेत स्थानीयलाई रोक लगाईएको छ। ‘नदीमा बग्न दिने तर समातेर प्रयोग गर्दा उल्टै कारवाही गरिन्छ’, ढुंगानाले भने–‘यो कस्तो नियम हो।’
वर्षाको भेलमा बग्दै गरेका रुख समातेर राख्ने अनुमति दिने हो भने मात्रै पनि नदी किनारमा धेरै रुख जम्मा पार्न सकिन्छ। ती रुख स्थानीयले काठदाउराका रुपमा मात्रै नभई दाहसंस्कारमा समेत प्रयोग गर्न सकिनेछ।
स्थानीयले भोलिका दिनमा आउने दाहसंस्कारको गम्भीर समस्या प्रति सम्बन्धित निकाय जिम्मेवार बन्न आग्रह गरेका छन्। उनीहरुले काठदाउराको विकल्पका रुपमा विद्युतीय शवदाह गृह निर्माण गरिनुपर्ने बताए। अध्यक्ष खड्काले विकल्प नखोजे चाँडै दाहसंस्कार गर्न नपाएर आफन्तले शव गाड््नुपर्ने अवस्था आउने बताए।
प्रकाशित: ४ आश्विन २०७९ १०:१३ मंगलबार