८ वैशाख २०८१ शनिबार
समाज

जन्मदर्ताको अभावमा विद्यालय नगइ सुँगुर गोठालो जान्छन् डोम बालबालिका

रौतहटको माधवनारायण नगरपालिका-४ माइधिया डमार टोलमा दुई घर डोम परिवार छन्। डोम परिवारमा विद्यालय जाने उमेरका ७ बालबालिका रहेका छन्।

झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्रीमती सुनैना देवी मल्ली घरसँगै टाँसिएर रहेको विद्यालयमा सफाइको काम गर्छन्। विद्यालयको कर्मचारी भए पनि मल्ली परिवारका सन्तानले सोही विद्यालयमा पढ्न नपाएको दुखेसो गर्छन्।

सुनैना देवी मल्ली भन्छिन्, 'आठ वर्षकी छोरी भइसकिन् तर जन्मदर्ताको अभावमा विद्यालयमा नाम लेखाउन पाएका छैनौँ।' दुई घरका ७ बालबालिकामध्ये कसैको पनि जन्मदर्ता बन्न सकेको छैन। सुँगुरको खोरसँगै बसेर खेल्छन्, खान्छन्। विद्यालयमा पढाइ भएको सबै तिनीहरुको घरमै सुनिन्छन् तर उनीहरु पढ्न पाएका छैनन्। जब विद्यालयमा पढाइ हुने बेला हुन्छ तब डोम परिवारका बालबालिकाहरु सुँगुर गोठालो जान्छन्।

आठ वर्षकादेखि दुधे बालबालिकाको जन्मदर्ता किन नगराएको त? भनेर सोध्दा सुनैना देवी मल्ली भन्छिन्, 'वडा कार्यालयमा कतिपटक धाइसकें तर जन्मदर्ता बनाइदिँदैनन्।' सँगै रहेकी विन्देश्वर मल्लीकी श्रीमती फुलवा देवी मल्लीले पनि आफ्ना तीन छोराछोरीको जन्मदर्ता बनाउन आफू कैँयौँ वर्षदेखि वडा कार्यालय धाइरहेको तर जन्मदर्ता नबनाएको गुनासो गरिन्।

चार र तीन सन्तानका आमा भइसकेको भए पनि आमाहरुको नेपाली नागरिकताको प्रमाणपत्र अझै बन्न सकेको छैन। आमाको नागरिकताको प्रमाणपत्र नहुनु र छोराछोरीको जन्मदर्ता नहुनुले राज्यबाट पाउने सबै किसिमको सुविधाबाट दुई डोम परिवार वञ्चित रहेको देखिएका छन्। स्थानीय भुटाइ पासवान भन्छन्, 'झन्डै दुई सय दलित परिवार रहेको माइधिया टोलमा सबै गरिब नै छन्।'

डोम परिवारका बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेको विषयमा वडाध्यक्ष रामदेनी मुखियालाई सम्पर्क गर्दा जन्मदर्ता र नागरिकताको प्रमाणपत्रको लागि डोम परिवारले नै चासो नदेखाएको बताएका छन्। माइधिया डमार टोलमा बसेका दुई डोम परिवार माधव नारायण नगरपालिका वडा नम्बर ७ बाट आएका तर बसाइँसराइ नगराएका कारण आफ्नो वडा कार्यालयले औपचारिक रुपमा कुनै सेवा र सुविधा उपलब्ध गराउन नसकेको वडाध्यक्ष मुखियाले जानकारी गराएका छन्।

दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका मुखियाले आफूले डोम परिवारको समस्या बुझेको तर तिनीहरुलाई बसाइँसराइ गराउन वा पुरानो वडा कार्यालयबाट नागरिकताको सिफारिस गराउन तथा बालबालिकाको जन्मदर्ता गराउन पटकपटक आग्रह गरेको बताएका छन्। आफूले नगरपालिकामा पनि सम्बन्धित वडाको सुविधा डोम परिवारलाई तिनको बसोबास रहेकै स्थानमा दिन प्रस्ताव गरेको वडाध्यक्ष मुखिया बताउँछन्।

विद्यालयकै छेउका दुई घर डोमका बालबालिकाहरु विद्यालयमा पढ्न नसकेको विषयमा विद्यालयका प्रधानाध्यापक राजेश राय यादवले आफूले समस्या बुझेको तर जन्मदर्ताको अभावमा औपचारिक रुपमा विद्यालयमा नामांकन गर्न नसकिएको तथा विद्यालयका औपचारिक सुविधा दिन नसकिएको बताएका छन्। विद्यालय कर्मचारीकै बालबालिकाहरु विद्यालयमा पहुँच राख्न नसकेको विषय आफूलाई खल्लो लागेको र अब आफूले पनि तिनको समस्या समाधानमा सहजीकरण गर्ने प्रअ यादवले बताएका छन्। 

प्रकाशित: ३ आश्विन २०७९ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App