coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चोरी गर्दागर्दै पक्राउ परेका प्रअलाई लाखौँ जरिवाना गर्दै गाउँलेले गरे निष्काशन

सर्लाहीको बलरास्थित एक सामुदायिक विद्यालयको सामान चोरी गरेर लाँदै गरेको अवस्थामा पक्राउ परेका प्रअ र शिक्षकलाई अभिभावक तथा गाउँलेले कारबाही गर्दै निष्काशन गरेका छन्।  

सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रहेको रामरति मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक हरिशचन्द्र मल्लिकलाई विद्यालयबाट लाखौँको रंग चोरेर लैजाँदै गरेको अवस्थामा गाउँलेहरुले पक्राउ गरेका थिए।  

वडाध्यक्ष मणिभूषण सिंहको अगुवाइमा अभिभावक तथा गाउँलेहरुको समूहले भारतीय नम्बर प्लेटको गाडीमा एक लाख साठी हजार रुपैयाँ मूल्य बराबरको रंग लगिरहेको अवस्थामा पक्राउ गरेर प्रअ झा र शिक्षक मल्लिकलाई इलाका प्रहरी कार्यालय बलरामा बुझाएका थिए।  

रातभर प्रहरी चौकीमा थुनिएका प्रअ र शिक्षकलाई अभिभावक तथा गाउँलेहरुले कारवाही गरेका छन्।  बलरा नगरपालिका ४ वडाध्यक्ष सिहले दिएको जानकारी अनुसार प्रअ झा र शिक्षक मल्लिकलाई विद्यालयमा पठनपाठनमा रोक लगाइएको छ।  विद्यालयबाट निष्काशन गरिएका प्रअ झाले विद्यालयमा पटकपटक चोरी गरेको भन्दै पाँच लाख रुपैया जरिवाना गराइएको वडाध्यक्ष सिंहले बताएका छन्।  

प्रहरीकै रोहबरमा प्रअ झाले वडाध्यक्ष सिंहलाई जरिवानाको पाँच लाख रुपैयाँ सोमबार नै तिरेका छन्। प्रअ झाले तिरेको रकम विद्यालयकै काममा खर्च गरिने वडाध्यक्ष सिंहले बताएका छन्।  

गाउँलेहरुले विद्यालयको रंग चोरेको भनी लगाएको आरोपको विषयमा सोध्दा प्रअ झाले विद्यालयमा खेर गइरहेको एसियन कम्पनीको रंगलाई राहत शिक्षक हरिशचन्द्र मल्लिकलाई स्टाफ बैठकबाट निर्णय गराएर दिएको र विद्यालयलाई चाहिएको बेला शिक्षक मल्लिकले उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्। स्टाफ बैठकको निर्णयबाट रंग विद्यालयबाहिर लैजाँदा अभिभावकलाई चोरीको भ्रम परेको प्रअ झाको भनाइ छ। यसैबीच प्रअ झाले हजारौँ मानिसको बिचमा आफूले गल्ती गरेको भनी माफी मागेका छन्।  

प्रअ झामाथि विद्यालयको रंग लगायत अन्य सामान पटकपटक चोरीको आरोप रहेको छ। प्रअ झाले विद्यालय भवनलाई पहेंलो रंगले रंगरोगन गर्दा सोही समयमा विद्यालयकै पहेंलो रंगले नै रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित आफ्नो निजी निवासलाई रंगरोगन गरेको आरोप रहेको छ।  

यसै गरी गत वर्ष विद्यालयको रकममा हिनामिना गरेपछि नगरपालिकाले प्रअ झाको तलब रोक्का गरेको थियो। प्रअ झामाथि नगरपालिकाले गरेको कारबाही अझै फुकुवा हुन नसकेको स्थानीयले बताएका छन्।  

विद्यालयबाट चोरी गरेको सामानसहित पक्राउ गरी प्रहरीलाई बुझाउँदा प्रहरीले कारबाही गर्नुको साटो कार्यालयमै पंचायती बसालेर जरिवाना तिराएको विषयलाई लिएर पनि विरोध भएको छ। विद्यालयको सामान चोरी भएको, दसीसहित चोर समातिएको र रातभर चोरलाई इलाका प्रहरी कार्यालयमा राखेको भए पनि इलाका प्रहरी कार्यालय बलराका सई मोहन कटुवालले कानुनी कारबाही अगाडि बढाउनुको साटो पंचायती गराउन र मुद्दा मिलाउन भूमिका खेलेको आरोप रहेको छ।  

पूर्व वडाध्यक्ष केशव झाले प्रहरीले कानुन अनुसार कारबाही गर्नुपर्नेमा पंचायती बसाई आफ्नै रोहबरमा मिलापत्र गराएको बताएका छन्। इलाका प्रहरी कार्यालय बलराका सई कटुवालले कतैबाट जाहेरी नपरेको कारण मुद्दा चलाउन नसकिएको बताएका छन्।

प्रकाशित: ३ आश्विन २०७९ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App