४ वैशाख २०८१ मंगलबार
समाज

विद्यालयको रंग चोरेको आरोपमा प्रअ र शिक्षक पक्राउ

विद्यालयको सामान चोरी गरेको आरोपमा सर्लाहीमा प्रधानाध्यापक र एक शिक्षक पक्राउ परेका छन्।  

सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रहेको मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक हरिशचन्द्र मल्लिकले विद्यालयको सामान चोरेर लगिरहेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

विद्यालयमा रंगरोगनको काम भइरहँदा करिब एक लाख साठी हजारको पेन्ट चोरेर भारतीय गाडीमा राखी लगिरहेको अवस्थामा बलरा नगरपालिका ४ का वडाध्यक्ष मणिभूषण सिंहको अगुवाईमा स्थानीयले दसीसहित समातेर प्रअ झा र शिक्षक मल्लिकलाई इलाका प्रहरी कार्यालय बलरामा बुझाएका छन्।  

विद्यालयको भवन निर्माण तथा पेन्टिङको काम हुँदा प्रअ झाले पटकपटक सामान चोरेर लैजाने गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्। विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा गत वर्ष बलरा नगरपालिकाले केही महिना तलब रोक्का गर्ने कारबाहीसमेत गरिएका प्रअ झा आफू निर्दोष रहेको बताउँदै आएका छन्।  

विद्यालयबाट भारतीय नम्बर प्लेट jh 01AB 9127 गाडीमा ८ बाल्टी पेन्ट राखेर घरतिर जान थालेपछि स्थानीयबासीले पक्राउ गरेका हुन्। बलरामै स्थायी घर भएका प्रअ झा रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा घर बनाएर बस्दै आएका छन्। पक्राउ परेका अर्का शिक्षक रौतहटको गरुडा नगरपालिका ७ को रहेको बुझिएको छ।  

इलाका प्रहरी कार्यालय बलराले सामानसहित प्रअ झा र एक जना शिक्षकलाई इप्रकामा बुझाएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २ आश्विन २०७९ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App