थारु समुदायको महत्वपूर्ण चाड जितिया सुरु भएको छ। तराईबासी आदिवासी जनजाति थारू समुदायको प्रमुखमध्येको एक जितिया शनिबारदेखि मनाउन थालिएको हो।
खासगरी महिलाहरुको यो चाडमा खर जितिया (शुद्ध जितिया) नदी किनार, पोखरी र तलाउलगायत जलासयमा भेला भएर पुजा आराधना गरी मनाउने गर्छन्। सदरमुकाम गाईघाट आसपास तराईभेगमा बाक्लो बसोबास गर्ने थारु समुदायले त्रियुगा, बरुवा, लुहाले, बगाहा, कङखोलालगायत आफू पायक पर्ने स्थानीय खोला नाला र तलाउजस्ता जलासयमा घाट बनाएर पुजा आराधना गर्न थालेका छन्।
चाड मनाउने क्रममा पहिलो दिन शनिबार विहानैदेखि स्थानीय खोला नालामा गएर महिलाहरु स्नान गरी ब्रत र पुजाआराधना थालेका छन्। यो बेला महिलाहरुले घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर आराध्यदेवको पूजा गर्ने गरेका छन्। शनिबार सुरु गरेको व्रत निकै नियम निष्ठाका साथ बस्ने गरेको थारु कल्याणकारीणी सभा उदयपुरले जनाएको छ।
सभाका अनु्सार यो चाडमा सप्तमी तिथिका दिन माता (आमा)हरू पोखरीमा स्नान गरी सूर्यलाई जल अर्पण गरी जिमूत वाहन देउताको पुजाआराधना गर्ने गर्दछन्। यसो गर्दा महादेवले जिमूत वाहन देउतालाई पूजा गरेर प्रसन्न हुने र यसबाट सन्तानलाई अकाल मृत्युबाट बँचाउने विश्वास लिइ्रन्छ। यस चाडमा नहाय खाए (नुहाएर खाना खाने) गर्ने दिन अनिवार्य व्रतालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ।
सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा गराउन जितियामा महिलाहरु व्रत लिने प्रचलन रहेको कल्णणकारीणी सभाका अध्यक्ष बेचुदास चौधरी बताउँछन्। उनका अनुसार भर्खर बिहे गरेका नयाँ विवाहित महिलाले पनि जितिया ब्रत बस्नु पर्ने हुन्छ।
थारु पुरोहित बासुदेव चौधरीका अनुसार थारू समुदायको महान् चाड जितियामा महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा होस् भन्ने हेतुले व्रत लिने गरेका हुन्। थारू समुदायमा मान्छे मर्नबाट संजोगवश जोगिन्छ भने आमाले जितिया व्रत लिएका कारण बाँचेको हो भन्ने विश्वास लिने गरिएको पुरोहित चौधरी बताउँछन्।
हिन्दु नारीको तीज र तराईबासीको छठजस्तै लाग्ने यो चाडको थारु समुदायमा ठूलो महत्व रहेको त्रियुगा नगरपालिका १३ की निवर्तमान वडाध्यक्ष पशुपति चौधरी बताउँछिन्। उनका अनुसार हिन्दु महिलाको तिजजस्तो ब्रत बसेर दर खाने तथा तराईबासीको छठको सैलीमा जलासयमा घाट बनाएर पुजाआराधना गरेर यो चाड मनाउने गरिएको छ।
चाडको अन्तिम दिन अर्थात नवमीका दिन व्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घर आएर चौका लगाई पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अघ्र्य दिएर समापन गर्ने गरिन्छ।
बिहे गरेर जन्मघर छाडेकी नव विवाहित र विवाहित छोरी चेलीलाई माइत बोलाएर भेटघाट गर्ने, दुःख, सुःखको कुरा गर्ने दिनको रुपमा पनि यसलाई थारु समुदायले लिने गरेको छ। त्यसैले यसलाई दाजुभाइ दिदीवहिनीबीचको माया, प्रेमको प्रतिकको रुपमा पनि लिने गरिएको अर्का थारु अगुवा शिवनारायण चौधरी बताउँछन्। उनका अनुसार बिहे गरेर गएकी छोरीलाई माइत बोलाएर मिठोमिठो खानेकुरा खुवाउने तथा दाजुभाईले दिदी बहिनीलाई नयाँ कपडा दिने चलन पनि चलिआएको छ।
प्रत्येक वर्ष असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म जितिया मनाउँने गरिएको कल्याणकारीणी सभाले जनाएको छ। यो अवसरमा सन्तान र परिवारजनको सुख, शान्ति र दीर्घायु तथा आपसी प्रेम र भाईचाराको कामना गरेर शुभकामना आदानप्रदान पनि गर्ने गरिएको छ। यस पटकको जितियामा त्रियुगा नगरपालिका ५ देउरी, गाईघाट, असारी, राजाबास, जलजलेलगायत बिभिन्न ठाउँमा औपचारिक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।
चाडको अवसरमा बिभिन्न ठाउँमा जितिया महोत्सवलगायत कार्यक्रमहरु पनि आयोजना गरिएको कल्याणकारीणी सभाले जनाएको छ। त्रियुगा नगरपालिकाका निवर्तमान मेयर बलदेव चौधरीको उपस्थितिमा शुक्रबार र शनिबार आधादर्जन ठाउँमा कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दै जितियाको सुरुवात गरिएको कल्याणकारीणी सभाले जनाएको छ। थारु समुदायका लागि यो चाड प्रमुख भएकाले पछिल्लो केहीवर्षयता सार्वजनिक कार्यक्रमसमेत गरेर मनाउन थालिएको चाधैरीले बताए।
जितियाको अवसरमा त्रियुगा नगरपालिकाले विगत ५ वर्षयता एकदिन सार्वजनिक बिदा दिदै आएको छ। यसवर्ष पनि एकदिन बिदा दिने निर्णय गरेको छ। त्रियुगासँगै जिल्लाका चौदण्डीगढी र बेलका नगरपालिकाले पनि असोज २ गते एकदिन जितियाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
प्रकाशित: २ आश्विन २०७९ ०६:१८ आइतबार