७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपहिरोको वितण्डा: अछाममा २१ को मृत्यु

कैलालीमा एकको ज्यान गयो, हजार घर डुबानमा

कैलालीको कैलारी गाउँपालिका–५ पवेरामा बाढीपीडितलाई उद्धार गर्दै सशस्त्र प्रहरी टोली। तस्बिर: नागरिक

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।

अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्चना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामी छन्। घाइते हुनेमा इन्द्रसिंह कामी, भक्त कामी, कल्पना कामी, सुशीला कामी, सफलता कामी, डिक्रा कामी र ममता कामी छन्।

यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा २६ वर्षीया गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, तीन वर्षीया कलु दमाई र चार वर्षीया कल्पना दमाई छन्। परिवारका मूली खिउरे घाइते भएका छन्।

त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ। मृत्यु हुनेमा घरमुली ४५ वर्षीय नेत्रबहादुर शाही, पत्नी ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया छोरी विमला शाही र भतिजी १७ वर्षीया जानकी शाही छन्। पहिरोमा परेर २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया मेलिना शाही र अढाइ वर्षीया करिस्मा शाहीको पनि मृत्यु भएको छ। पहिरोमा १३ वर्षीय सुन्दर शाही बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए।

अछामकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर शनिबार दिउँसो अछामका घटनास्थलमा पुगेको छ। गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ भने तीनजनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। ढकारीमा पहिरोमा परी मोतीराम जैशी बेपत्ता भएका छन्।

अविरल वर्षाका कारण आएको बाढीले बगाएर कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ। कालुरामको अवस्था अज्ञात रहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घर भत्कँदा कैलालीको चुरे गाउँपालिका–३ का आठ वर्षीय आयुष सापकोटा र टीकापुर नगरपालिका–१ का २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बाढीले कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै सयौं परिवार विस्थापित भएका छन्।  

कैलालीको भजनी–१, २, ३, ५, ७ र ८ मा मोहना र कान्द्रा नदीमा आएको बाढीले ७ सयभन्दा बढी घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। कैलारी गाउँपालिका–३, ५ र ७ मा मोहना नदीमा आएको बाढीले १८० घर, लम्की चुहा नगरपालिका–७ र ९ मा ११० परिवार, जानकी गाउँपालिका–४ र ७ मा १४० परिवार र धनगढी–१३ श्रीलंकामा १३ परिवार डुबानमा परेका छन्। 

डुबानले विस्थापित भएकाहरू स्थानीय विद्यालय, सामुदायिक वनका भवन तथा खुला सडक र चौरमा आश्रय लिएर बसिरहेका छन्। बाढी डुबान घट्न नसकेका कारण उनीहरू शनिबार बेलुकीसम्म फिर्ता हुन नसकेको स्थानीयले बताएका छन्। कञ्चनपुरमा मोहना, दोदा र वनहरा नदीमा आएको बाढीले ३०० बढी घर डुबानमा परेका छन्। शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुवान भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App