८ वैशाख २०८१ शनिबार
समाज

नरैनापुरमा खाद्य संकटको सम्भावना

नरैनापुरको सुख्खा क्षेत्र। समयमै वर्षा नहुँदा यहाँ ८५ प्रतिशत जमिन बाँझै।

नरैनापुर–५ जमुनाहका जलिल मनिहार बटैया (अधियाँ) लगाउँछन्। १० कट्ठा जमिनमा बटैया लगाउने उनलाई परिवार चलाउनै मुस्किल हुन्छ। कुनै वर्ष बाली सप्रिएन भने उनको घरमा खान समस्या हुन थाल्छ। यस वर्ष भने वर्षा नहुँदा उनले रोपाइँ गर्नै पाएनन्। गत वर्ष पनि लगाएको धानबाली पनि बेमौसमी वर्षाले सखाप पारिदियो। गत वर्ष उत्पादन नहुनु र यस वर्ष रोपाइँ नहुँदा उनलाई परिवार चलाउनै हम्मेहम्मे भएको छ। उनीजस्तै वडा नम्बर ४ का असफाख खाँले यस वर्ष रोपाइँ गर्नै पाएनन्। ५० कट्ठामा धान लगाउने उनले यस वर्ष मुस्किलले दुई बिगाहमा मात्र धान रोपेका छन्।

त्यो पनि बोरिङमार्फत। ‘यस वर्ष यहाँ पानी नै परेन,’ उनले भने, ‘बोरिङबाट पूरै खेतमा रोपाइँ नै गर्न पाइएन।’ धानको ब्याड राख्न पनि समस्या भएको थियो। करिब ४०÷४५ क्विन्टल धान उत्पादन हुने उनको खेतमा यस वर्ष धेरै न्यून उत्पादन हुने देखिन्छ। १२ जनाको परिवार भएको उनलाई यो उत्पादनले परिवार पाल्नै मुस्किल देखिन्छ।  ‘पानी नपर्दा धान रोपाइँ गर्न पाइएन,’ उनी भन्छन्, ‘गत वर्ष पानीले खेतमै धान कुहियो। यस वर्ष रोपाइँ गर्न पाइएन।’ त्यसभन्दा पहिला उत्पादन भएको धान बिक्री गरिएको र गत वर्ष धान उत्पादन नभएको भन्दै उनले भने, ‘सिँचाइ नहुँदा यस क्षेत्र सुख्खाग्रस्त भयो। सयौं किसानले रोपाइँ गर्नै पाएनन्।’ ४० कट्ठा जमिनमा खेतीपाती गर्दै आएका इसराफिल खाँको पनि जमिन बाँझै छ। सिँचाइ अभावमा उनले पनि यसपालि धान मात्र होइन, खेतबारीमा अरु केही खेती गर्न सकेनन्। ‘यतिबेला खेतमा धानका बाला लाग्नुपर्ने समय हो,’ उनी भन्छन्, ‘तर, बारी सुख्खा छ।’ वर्षा नहुँदा बारीमा झारपातसमेत उम्रिन नसकेको उनी बताउँछन्।

यसभन्दा पहिला यस क्षेत्रमा यस्तो समस्या भएको थिएन। यस वर्ष मात्र यहाँ ठूलो समस्या भएको स्थानीयको भनाइ छ। यहाँका किसानले आकाशे पानीकै भरमा खेतीपाती गर्छन्। पानी प¥यो खेती लाग्यो नत्र यहाँ सुख्खा नै हुन्छ। सिँचाइ सुविधा नहुँदा यहाँका किसानलाई ठूलो समस्या छ। यहाँ सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाको काम पनि समयमै सम्पन्न हुन सकेको छैन। पटकपटक म्याद थप हुँदा पनि काम सम्पन्न नहुँदा यस क्षेत्रमा सिँचाइ पुग्न सकेको छैन। सिक्टाको पानी यहाँ पुगे किसानलाई ठूलो राहत हुनेछ।

यतिबेला यहाँका किसान दुःखमा छन्। नरैनापुर क्षेत्र सुख्खा छ। यहाँका खेतबारी यतिबेला हिलाम्मे हुनुपर्ने हो तर, केही खेत धुलाम्मे छन्। खेतीयोग्य जमिनमा गाईबस्तु चरिचरणका लागि छरपष्ट देखिन्छन्। यहाँका किसानले सरकारले केही समयका लागि मालपोत (जग्गाको तिरो) मिनाह गर्नुपर्ने, किसानलाई सम्बोधन हुने गरी राहतको प्याकेज ल्याउनुपर्ने बताएका छन्। गाउँपालिकाका अनुसार पालिकाभरि यस वर्ष १५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ भने ८५ प्रतिशतमा रोपाइँ हुन पाएन। यहाँको मुख्य आयस्रोत भनेकै कृषि हो। तर, किसानले रोपाइँ गर्न नपाएपछि यसले यहाँको आर्थिक अवस्थामा प्रभाव पार्ने देखिन्छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिसकेको छ। नरैनापुरमा भोकमरीको अवस्था सिर्जना हुने सक्ने देखिएकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको बताइएको छ। यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन्। धानबाली लगाउने समयमा वर्षा नहुँदा यहाँ धानबाली रोपाइँसमेत हुन सकेको थिएन। रोपाइँ भएको धानसमेत सुख्खा कारणले उत्पादन नहुने अवस्था देखिएकाले यहाँ भोकमरीको अवस्था सिर्जना हुनसक्ने आँकलन गरिएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले बताइन्। ‘पालिकाले मात्र सम्बोधन गरेर पुग्दैन,’ उनले भनिन्, ‘प्रदेश र संघ सरकारले यहाँका किसानको पीडालाई सम्बोधन गर्न जरुरी छ।’ ८५ प्रतिशत जमिन बाँझै हुँदा पालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको उनको भनाइ छ।

प्रकाशित: १ आश्विन २०७९ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App