६ वैशाख २०८१ बिहीबार
समाज

सत्याग्रहको पाँचौं दिनः औषधि लिनै मानेनन् डा.केसी, मुटुको धड्कनमा समस्या

सत्याग्रहको ५ औँ दिनमा पनि सेती प्रादेशिक अस्पतालको बेडमै डा. केसी।

धनगढीमा विगत पाँच दिनदेखि २०औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गइरहे पनि उनले औषधि लिन मानिरहेका छैनन्।

गत सोमबारदेखि धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा सत्याग्रहमा बसेका उनको तीन दिनमै स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी एम्बुलेन्सबाट उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो।

अस्पताल लगिए पनि डा. केसीले औषधि प्रयोग गर्न मानेका छैनन्। डा. केसीको शरीर दिन प्रतिदिन कमजोर बन्दै गएको छ। शरीर कमजोर बन्दै गएपछि चिकित्सकहरुले उनलाई औषधि प्रयोग गर्न खोज्दा डा. केसीले आफूलाई औषधि प्रयोग नगर्न भनि सुझाव दिएका छन्।

सत्याग्रहमा बस्दा स्वास्थ्यमा कुनै समस्या आएमा वा बेहोस भए पनि मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक अन्य कुनै पनि औषधि प्रयोग नगर्नु भनेर उनले लेखेर दिएको चिकित्सक अमृत जैसीले बताए। उनले भने, ‘डा. केसीले लेखेर दिएअनुसार नै हामीले अहिलेसम्म पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्रै प्रयोग गरिरहेका छौँ।’ डा. केसीलाई अहिले जिउ दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, थकान लाग्ने, बाउडिने, श्वास फेर्न गाह्रो हुने र छाती दुख्ने जस्ता लक्षण देखिन थालेको चिकित्सकहरु बताउँछन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै समर्थक तथा नागरिक समाजसँग पनि भेटघाट बन्द गरिएको छ। विगतका सत्याग्रहको तुलनामा यसपटक डा. केसीको स्वास्थ्य अवस्थामा थोरै दिनमै गम्भीर समस्या देखिन थालेको चिकित्सक जैसीले बताए।

डा. केसीको रगतमा ग्लुकोजको मात्रा एकदम कम देखिएको, रक्तचाप निकै कम देखिएको, मुटुको धड्कनमा गडबढी, श्वासप्रश्वास दर बढ्दै गएको, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम कम हुनुका साथै पिसावमा किटोन बढ्दै गएको सेती प्रादेशिक अस्पतालद्वारा जारी मेडिकल बुलेटिनमा उल्लेख गरिएको छ।

यसैगरी डा. केसीको तौल घट्दै गएको, पोषण तत्व र पानीको मात्रा घट्दै गई जटिलता बढ्दै गएको बताइएको छ। पानी र पोषण तत्वको असन्तुलनले बेहोस हुन सक्ने, शरीर कम्पन्न हुन सक्ने, शरीरका अंग तथा प्रणाली बिग्रन सक्ने र ज्यानलाई खतरा हुनसक्ने चिकित्सकले बताएका छन्।

स्वास्थ्यमा यस्तो समस्या देखा परे पनि डा. केसीले चिकित्सा शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका जनताका माग लिएर सत्याग्रहमा बसेको र सरकारले माग पूरा नगरेसम्म सत्याग्रह जारी राख्ने बताएका छन्। सरकारले अधिकार सम्पन्न वार्ता टोली गठन गरेमा मात्र आफ्नो पक्षबाट वार्तामा बस्ने उनको भनाइ छ। तर, सरकारका तर्फबाट अहिलेसम्म वार्ताका लागि अधिकारिक रुपमा कुनै प्रस्ताव आइसकेको छैन।

डा. केसीले जनताका सरोकारका माग राखेर थालेको सत्याग्रहमा एक्यवद्धता जनाउन सर्वसाधारणहरु दैनिक अस्पताल पुग्ने गरेका छन्। डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा सर्वसाधारणले सरकारले छिटोभन्दा छिटो वार्ता गरेर डा. केसीका माग पूरा गर्नुपर्ने धारणा दिन थालेका छन्।

तीन साताको समयसीमा दिएर भदौ १२ गते अनशन बस्ने भनेकोमा सरकारी पक्षले केही समय पर्खन भनेपछि उनले थप दुई हप्ता समय दिएको बताएका उनी गत सोमबार मात्रै सत्याग्रहका लागि धनगढी हिँडेका थिए। धनगढी पुगेकै दिन बेलुकी पत्रकार सम्मेलन गरेर उनी सत्याग्रहमा बसेका थिए।

शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरु मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेको भन्दै आफूले सत्याग्रह गरेको उनको भनाइ थियो। गरिबले तिरेको करबाट नेताहरुले विदेशमा गई महँगो अस्पतालमा उपचार गर्ने, तर तिनै नेतालाई भोट दिने र कर तिरेर उनीहरु उपचार नपाएर मर्नु पर्ने यो अवस्थाको अन्त्य होस् भन्ने आफ्नो माग रहेको उनले यसअघि पत्रकार सम्मेलनमार्फत् बताएका थिए।

माफियाहरुसँग मिलेर निजी अस्पतालमा नेताहरुले नै लगानी गरेका कारण अहिलेसम्म सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरु सञ्चालन हुन नसकिरहेको उनले बताएका थिए। यसपटकको सत्याग्रहमा डा. केसीको सरकारसँग ७ बुँदे माग रहेको छ।

प्रकाशित: ३१ भाद्र २०७९ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App